मेचीनगर, साउन २६ । नेपाल प्रेस युनियन झापाका पूर्व केन्द्रीय तथा प्रदेश पार्षद, अग्रज पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

लामो समयदेखि मिर्गौला रोगको उपचार गराइरहेका श्रेष्ठको दुवै मिर्गौलाले काम गर्न छाडेपछि आइतबार साँझ पौने ६ बजे ६४ बर्षको उमेरमा निजी निवास धुलाबारीमा निधन भएको थियो । उनको सोमबार वैदिक विधिपूर्वक निन्दा खोला पूर्वको स्थानीय रामघाटमा अन्त्येष्टी गरिएको छ ।
नेपाल प्रेस युनियन झापाको आयोजनामा घाटस्थलमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सभामा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गोविन्दचन्द छेत्रीले शोक मन्तब्य राख्दै श्रेष्ठ निष्ठावान पत्रकार भएको तथा पत्रकारिता र साहित्य क्षेत्रमा गरेको योगदानका कारण भौतिक शरीर मरेर गएपनि उनी सदा अमर रहने बताए ।
नेपाल प्रेस युनियन झापा शाखा अध्यक्ष इन्दु पूर्वेलीले सञ्चालन गरेको शोक सभामा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सचिव चिन्तामणि दाहाल, पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाई, नेपाल पत्रकार महासंघका अध्यक्ष तारामणि सापकोटा, पूर्व सभापतिहरु मोहनकाजी, भीम नेम्बाङ, गणेश पोखरेल, उपाध्यक्ष एकराज गिरी, सचिव सन्तोष आचार्य, प्रेस संगठन झापाका संयोजक मुक्ति पौडेल, सहसंयोजक टिकाराम उप्रेती, नारी सञ्चार गृह झापाका अध्यक्ष अम्बिका भण्डारी, फोनिज झापाका अध्यक्ष विशाल नेम्बाङ, पूर्व अध्यक्ष गणेशमान मुखियालगायत पत्रकार, साहित्यकार, ब्यवसायी, जेसीजकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो । धुलाबारी जेसीजका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठको शवमा धुलाबारी जेसीजअध्यक्ष सागर खनाललगायतको जेसीज टोलीले जेसीजको झण्डा ओढाएका थिए ।
२०३२ सालदेखि चार दशकसम्म पत्रकारितामा क्रियाशील श्रेष्ठले २०४२ सालदेखि २०७१ सालसम्म राष्ट्रिय समाचार समितिमा रहेर पत्रकारिता गरेका थिए भने वार्ता साप्ताहिक (२०३४), सिद्धार्थ पाक्षिक (२०३६), संसार साप्ताहिक (२०३८) सिरेटो साप्ताहिक (२०३९) रासस (२०४२), शनिबार साप्ताहिक (२०४८) जनसंसद दैनिक (अतिथि सम्पादक २०७१—२०७३) लगायतमा पनि काम गरेका थिए ।
२०१३ सालमा भक्तपुरमा जन्मेका श्रेष्ठका पाँचवटा साहित्यिक कृतिहरु प्रकाशित छन् । ढुङगामाथि तरेलिएका फूल र पातहरु (कविता सङ्ग्रह २०४८), अन्तहिन यात्रा (कविता संग्रह २०५२), हुटिट्याउँले आकाश थामेको देश (कविता संग्रह २०५६), क्यातुके फूल (कथा संग्रह २०६८), स्मृतिका ती दिनहरु (संस्मरण संग्रह २०७१) उनका प्रकाशित कृति हुन् । उनका पत्नी निलु, दुई छोरा अनिमेष, अनिशेष र एक छोरी अनिशा श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्