इलाम , साउन २९ । इलामको सन्दकपुर गाउँपालिकामा कार्यपालिका सदस्यसहित समुदायका ४ जनामा कोरोना संक्रमण देखिएपछि लकडाउन पुनः लम्ब्याइएको छ ।

आज कार्यपालिका सदस्य छत्र दियाली र पञ्चकन्या हाइड्रोपावरमा काम गर्ने तीन जना कर्मचारीलाई कोरोना पुष्टि भएको हो । दुईजना कर्मचारी लमजुङका र एकजना सन्दकपुर ४ निवासी भएको गाउँपालिका अध्यक्ष उदय राईले बताए । उनले साउन २३ गते समुदायका ५० जनामा गरिएको परीक्षणमा कार्यपालिका सदस्य दियाली र ३ जना हाइड्रोपावरका कर्मचारीमा कोरोना देखिएको बताए । केहीदिन अघि सन्दकपुरमा रहेको पञ्चकन्या हाइड्रोपावर मर्मत गर्न आएका ११ जना कर्मचारीमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । ती संक्रमितहरुको सम्पर्कमा आएका ७७ जनाको स्वाब संकलन गरी पठाइएको थियो । त्यसमध्ये ५० जनाको रिपोर्ट आज आएको हो । जसमा ४ जनाको पोजिटिभ रहेको छ । बाँकी २७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । कोरोना संक्रमण समुदायमा फैलिएपछि आजदेखि पुनः ७ दिनका लागि लकडाउन लम्ब्याइएको अध्यक्ष राईले बताए । यसअघि समुदायमा कोरोना फैलन नदिनका लागि गाउँपालिकाले साउन २२ गतेबाट एक साताको लागि लकडाउन गरेको थियो । लकडाउन लम्ब्याएसँगै संक्रमितहरुको सम्पर्कमा आएका थप १३७ जनाको भोलि कन्ट्याक्ट ट्रेसिङ गरिने राईले बताए । आज पुष्टि भएका संक्रमितहरुलाई इलाममा रहेको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । इलाममा २० वार्डको आइसोलेसन सेन्टर रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्