दमक,साउन ३० । भारतीय सीमावर्ती क्षेत्र झापाको गौरीगञ्ज गाउँपालिकामा कोरोना भाइरसको संक्रमण पहिचानका लागि सशुल्क पिसिआर परीक्षण गर्न थालिएको छ ।

गौरीगञ्जभित्रका क्वारेन्टाइनमा बसेका ३ जनासहित ५३ जना व्यापारी तथा ईच्छुक सर्वसाधारणको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ ।
उद्योग वाणिज्य संघ गौरीगञ्जको आयोजना र गौरीगञ्ज गाउँपालिकाको समन्वयमा बिहीबार व्यापारी र सर्वसाधारणको सशुल्कमा स्वाव संकलन गरिएको हो ।
उनीहरू सबैको संकलित स्वाव परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाईएको गौरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए । कोरोना भाईरसको महामारी समुदायस्तरमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै गौरीगञ्जका व्यापारीसहित ईच्छुक सर्वसाधारणलाई सर्वसुलभ दरमा परीक्षण गर्न शुरू गरिएको उद्योग वाणिज्य संघ गौरीगञ्जका अध्यक्ष मखना महतोले बताए ।
समुदायस्तरमा कोरोनाको संक्रमण नफैलियोस् भन्ने उद्देश्यले कोरोना भाईरसको पिसिआर परीक्षण गर्दा कम्तिमा १५ हजार रूपैयाँ खर्च हुने भए पनि गौरीगञ्ज गाउँपालिकाभित्रका व्यापारीलाई ५ सय र इच्छुक सर्वसाधारणलाई २ सय ५० रूपैयाँमा पिसिआर गरिएको वाणिज्य संघ अध्यक्ष महतोले बताए ।
स्वाव संकलन कार्यमा खटिने स्वास्थ्यकर्मी, परीक्षण कार्यमा गाउँपालिकाले समन्वय गर्ने र भिटिएमको व्यवस्थापन वाणिज्य संघले गर्नेगरी व्यवस्थापन गरिएको उनले जानकारी दिए । भारतीय सीमासंग जोडिएको गौरीगञ्जमा कोरोना भाईरसको उच्च जोखिम रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्