शिवसताक्षी , भदौ ९ । झिलझिले बजारमा लामो समयदेखि व्यावसायिक रुपमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी भीमकुमारी मगर (अञ्जना) दुवै मिर्गौला खराब भएर थलिएकी छिन् ।

रेखा कस्मेटिक पसलका सञ्चालक रहेकी अञ्जना साउन ७ गते एक्कासी बिरामी परिन् । उनलाई झिलझिलेको स्थानीय पुुनर्जीवन अस्पताल लगियो । अस्पतालले बीएण्डसी अस्पताल बिर्तामोड लाने सल्लाह दिएपछि उक्त अस्पतालले चेकजाँच गर्ने क्रममा दुवै मिर्गाैला खराब भएको प्रमाणित गरेको थियो ।
अञ्जना भन्छिन् ‘मैले मेरो छोराछोरीको भविष्य निर्माण गर्न बाँकी छ, नानीहरु सानै छन् केही गर्छु भन्दाभन्दै कल्पनै नगरेको रोग लाग्यो । नानीहरुको लागि भएपनि म बाँच्न चाहन्छु । ’उनले आफूलाई सबैले मिलेर सहयोग गरी बचाईदिन आग्रह गरेकी छन् ।
अञ्जनाको श्रीमान् विगत १२ वर्षदेखि वैदेशिक रोजगारको क्रममा कतारमा छन् । श्रीमती विरामी परेको खबर उनले पनि थाहा पाएका छन् । तर, कोरोना कहरका कारण आउन सक्ने वातावरण छैन । बन्दाबन्दीले काम पनि ठप्प छ । यता कमाईको नाममा कस्मेटिक पसलबाट गर्जो मात्रै टर्दै थियो । आकस्मिक रुपमा रोग देखा पर्दा परिवारकै दैनिकीमा धक्का लागेको छ । अञ्जनाका एक छोरी र एक छोरा रहेका छन् । छोरी कक्षा १२ मा अध्ययन गर्दैछिन् भने छोरा कक्षा ८ मा अध्ययनरत छन् ।
बीएण्डसी अस्पतालले मिर्गौला प्रत्यारोपण गर्न काठमाडौंको नोवेल अस्पताल लानुपर्ने सल्लाह दिएको छ । हाल अञ्जनाले प्रत्येक दुई दिन बिराएर डाईलोसिस गराइरहेकी छिन् । डाइलोसिस गर्न मासिक ४० हजार भन्दा बढी खर्च लागिरहेको छ । अञ्जनाका भाइ भीमकुमार थापा मगरले सहयोगको याचना गर्दै खर्च जुटाइदिन सम्पूर्ण सहयोगी मनहरुलाई आग्रह गरेका छन् । मिर्गौला आफन्तबाटै प्रत्यारोपण गर्नुपर्ने भएकाले त्यसको समेत व्यवस्थापन भइरहेको उनको भनाइ छ । ‘मृगौला प्रत्यारोपण गर्दा २० देखि ३० लाखसम्म खर्च लाग्ने अस्पतालले जानकारी दिएको छ तर उक्त रकम जुटाउन हाम्रो बसमा छैन’उनले भने, ‘त्यसैले सबै–सबैमा सहयोगको अपेक्षा गर्दछु । मेरी दिदी बाँचे मात्र भान्जा भान्जीको भविष्य निर्माण हुने हुँदा दिदी बचाउनु हाम्रो पहिलो प्राथमिकता हो ।’२०६० सालदेखि शिवसताक्षी ११ मा स्थायी बसोवास गर्दै आएकी अञ्जना मिलनसार समाजसेवी व्यक्तित्व हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्