इलाम , भदौ १४ । इलामको माई नगरपालिकामा रहेको पाँच सय रोपनीभन्दा बढीको गौचरनको जग्गा एउटा धार्मिक संस्थालाई दान दिएपछि स्थानीय आन्दोलित भएका छन् ।

दान दिइएको गौचरनको जग्गा

माई नगरपालिका वडा नं ६ मा रहेको गौचरनको जग्गा किरात धर्मसँग सम्बन्धित माङ्सेबुङ गाउँपालिकामा रहेको आत्म पवित्र अर्गानिक कृषि फार्मलाई दान दिइएको हो । माइ नगरपालिका कार्यालयको सहमतिमा सो गौचरनको जग्गा विश्व मानव समाजले भोग गर्न पाउने गरी गुरु भण्डारण समाजको आत्म पवित्र अर्गानिक कृषि फार्मलाई दान दिइएको खुलासा भएको छ । वर्षौदेखि गौचरन र खोलाको रुपमा रहेको जग्गा अर्को गाउँपालिकाको धार्मिक संस्थालाई दान दिन नमिल्दै भन्दै माई ६ का २८४ जनाले नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका छन् । साविक महमाई गाविसको १ र २ हाल माई नगरपालिका ६ मा रहेको सोे सार्वजनिक जग्गा आफूहरुले वर्षौदेखि गौचरन र खेतीको रुपमा भोग गर्दै आएकोमा अचानक सो जग्गा दान दिएको सुन्दा आश्चर्यचकित परेको स्थानीय पदम चौहान बताउँछन् । उनले २०५३ सालअघि आफूलगायत केही स्थानीयले बगरलाई स्याहार गरी खेतीको रुपमा भोगचलन गरेकोमा त्यसपछि पुवा खोलामा बाढी आएपछि सो जग्गा पुनः बगरमै परिणत भएको बताए । बगरमा पुनः परिणत भएको त्यस जग्गाको केही भाग स्थानीयले फेरि खनजोत गर्न थालेका थिए । गत वर्ष माई नगरपालिकाको ६ नं वडा कार्यालयले एउटा सूचना जारी गरी सो सार्वजनिक जग्गामा खेती नगरी गौचरनकै रुपमा रहन दिन जानकारी गराएको थियो । तर,त्यसको एक वर्षपछि सो जग्गा त्यहाँको नेम्बाङ परिवारले आफूहरुको भएको दावी गर्दै धार्मिक संस्थालाई दान दिएको जनाएका छन् । स्थानीय बुद्धराज लिम्बूले नगरपालिकाको मिलेमतोमा सार्वजनिक जग्गा अर्को गाउँपालिकाको संस्थालाई दान दिएको दावी गरे । स्थानीयलाई ऐलानी पर्ती जग्गा उपभोग गर्न नदिई ठूलो चलखेल गरेर दान दिइएको समेत उनको दावी छ । स्थानीय प्रेम नेम्बाङसहित ४२ जनाले सहमति जनाई सो जग्गा संस्थालाई दान दिएको वडाध्यक्ष भुखराज आङदम्बेले बताए ।

छलफलमा भेला भएका स्थानीय

स्थानीयले सामूहिक उजुरी दिएपछि आइतबार भगवती मावि गोतामेटारमा त्यस विषयमा नगरपालिकाको न्यायिक समितिले भेला राखेको थियो छलफलमा पाँच सयभन्दा बढी स्थानीय भेला भएका थिए । भेलामा उपस्थित नगर प्रमुख दीपक कुमार थेबेले सो जग्गा अदालती प्रक्रियाबाट नेम्बाङ परिवारले आफ्नो नाममा पारी संस्थालाई दान दिएको बताए । माकुना डिल पूर्व माई खोला पश्चिम , रिकुवा खोला उत्तर र मागुना खोला दक्षिण चार किल्ला रहेको सो जग्गाको लागि २०२४ सालदेखि कुलप्रसाद नेम्बाङले मुद्धा लड्दै आई २०४९ सालमा अदालतले उनको हकमा नापी नक्सा गरिदिएको जानकारी दिए । भोगचलन अरु नै देखिएपनि नेम्बाङ परिवारको हकभोगमा रहेको जग्गा उनीहरुको परिवारका ४२ जना सदस्यहरुको सहमतिमा दान दिएको नगर प्रमुख थेबेको दावी छ । यद्यपि उनले नेम्बाङ परिवारको नाममा धनीपूर्जा आइनसकेको बताए । ‘अदालतले गरेको फैसलालाई हामीले मान्नु पर्छ ’ उनले भने ,’ संस्थालाई दान दिने प्रक्रिया पनि अदालतबाटै हुन्छ होला ।’ कतिपय स्थानीयले निर्वाचनका बेला किरात धर्मावलम्वीहरुले नगर प्रमुख थेबेलाई सघाएकाले त्यसको बदलामा किरात धार्मिकस्थल लारुम्बालाई सो सार्वजनिक जग्गा मिलाएर प्रदान गरिएको दावी गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्