झापा, भदौ २३ ।अलैंचीको मूल्य समायोजनको मुख्य मागसहित नेपाल अलैंची व्यवसायी महासंघले मंगलबार उद्योग, बाणिज्य मन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्की ( राजु ) , उद्योग बाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष नरेन्द्र खड्कालगायतको टोलीले मन्त्री निवासमा पुगेर ज्ञापनपत्र बुझाएको हो । प्रतिकिलो चार सय रुपैयाँमा बिक्री गरेको अलैंचीको बिल पाँच सय रुपैयाँको नदिएसम्म भारतीय भन्सारले अलैंची निकासी गर्न दिँदैन । एक केजी अलैंची निकासीको बिल पाँच सय रुपैयाँ तिर्नै पर्ने बाध्यकारी नियम भारतीय पक्षले लगाएको छ । तीन वर्ष अघिदेखि लगाइएको यो नियम खारेजीको पहल गरिदिन मन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष कार्कीले बताए । ‘नेपाली पक्ष मर्कामा छ, ३८० रुपैयाँदेखि ४०० सय रुपैयाँमा बेचेको अलैंचीको बिल ५०० सय रुपैयाँको दिनै पर्छ’ अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले भने, ‘तीन वर्ष अघिदेखिको यो नियम समायोजनको माग राखेर महासंघ डेढ वर्षदेखि सरकारलाई गुहारी राखेको छ ।’ यसअघि पनि मन्त्री भट्टको यो विषयमा ध्यानाकर्षण गराएपनि कार्यान्वयन नभएको भट्टराईले बताए । भारत अलैंची निकासी गर्दा गुड सेल्स ट्याक्स (जीएसटी) ५ प्रतिशत तिर्नु पर्ने नियम छ । कम मूल्यमा बेचेको सामानको बढीको बिल दिनु पर्दा रकम बैंक दाखिला गर्दा अलैंची व्यवसायीले समस्या भोगिरहेका छन् । व्यवसायीले सरकारलाई कर छलेको जस्तो देखिएपछि भन्सार मूल्य समायोजन गर्नुको बिकल्प नरहेकाले सरकार गुहार्नु परेको महासंघ पदाधिकारीको भनाइ छ । प्रतिकेजी नेपाली ६ देखि ८ रुपैयाँ बढी रकम तिर्नु परेपछि महासंघले मूल्य समायोजनको मुद्दा उठाएको हो । विगतमा प्रतिकिलो ८ सयदेखि १२ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको थियोे । अहिले मूल्यमा गिरावट भएर ३८० देखि ४ सय रुपैयाँ कायम भएपछि मूल्य समायोजनको माग नेपाली पक्षले उठाएको हो। तर, भारतीय पक्षले माग सुनुवाइ नगरेको महासंघका महासचिव भट्टराईको भनाइ छ । मूल्य समायोजन नगर्ने भारतीय अडानका बावजुद यसपटक अलैंची निकासीमा वृद्धि भएको छ । गतवर्ष ३ अर्ब ८१ करोडको अलैंची निकासी भएकोमा यसपटक ३ अर्ब ९९ करोड बढीको अलैंची निकासी भएको छ । मुलुकमा उत्पादित अलैंची मध्ये ९९ प्रतिशतभन्दा बढी अलैंची काँकडभिट्टा नाकाबाट निकासी हुने गरेको छ । बिर्तामोडमा अलैंचीका पाँच निकासीकर्ता छन् । विराटनगर र नेपालगञ्ज नाकाबाट बाँकी अलैंची निकासी हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्