बिर्तामोड , भदौ २७ । बिएण्डसी अस्पतालमा कोरोना संक्रमणको कुनै समस्या नरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले कोरोनालाई भयावह बनाइएको बताए । शनिवार अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक प्रसाईले बीएण्डसी अस्पतालमा कोरोना संक्रमणका विरामी रहेको तर उनीहरु सबैको अबस्था सामान्य रहेको जानकारी दिए । अत्याधुनिक प्रविधिका उपकरणजडित अस्पतालमा सबै रोगको उपचार हुने भन्दै प्रसाईले कोरोना संक्रमितको समेत छुट्टै आइसोलेसन वार्डमा राखेर उपचार गर्न शुरु गरिएको बताए । बिएण्डसी अस्पतालमा कार्यरत केही चिकित्सक, नर्स र कर्मचारी कोरोना संक्रमणका कारण आइसोलेसनमा रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालका चिकित्सक डा. राजु श्रेष्ठले जानकारी दिए । ‘कोरोना संक्रमण परीक्षण गर्दा चिकित्सकसहित केही कर्मचारीमा कोरोना संक्रमण देखियो उनीहरुमा कुनै लक्षण छैन ’डा. श्रेष्ठले भने,‘ १४ दिनसम्म आइसोलेसनमा बस्दा कुनै लक्षण देखिएन अब पुनः पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए उनीहरु सबै जना डिस्चार्ज हुन्छन् ।’ अस्पतालका मेडिकल डाइरेक्टर डा. निराजन पराजुलीले अस्पतालमा रहेको आइसोलेसनमा बस्ने कुनै पनि संक्रमितमा लक्षण नदेखिएको बताए । उनले भने ‘संक्रमण पुष्टि भएपनि उनीहरुमा कुनै लक्षण नदेखिएकाले समस्या छैन,हामीले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विरामीको नियमित उपचार गरिरहेका छौं ।’
कोभिडको उपचारका लागि सरकारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र बिराटनगरलाई मात्रै अनुमति दिएकाले जटिल प्रकारका विरामी आए उनीहरुलाई रेफर गर्ने गरिएको डा पराजुलीले बताए । डा. पराजुलीले कोरोना संक्रमितका लागि अस्पतालमा छुट्टै आइसोलेसन वार्ड तयार पारिएको जनाए । अस्पतालमा १० वेड आईसीयूसहित ४८ वटा आइसोलेसन बेड तयार पारिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्