झापा ,असोज ७ । मेची पिसिआर ल्याबका फोकल पर्सन एवं मेची कनकाई पिसिआर ल्याबका इन्चार्ज जितेन्द्र झाको खुट्टा फ्याक्चर भएको तीन साता भइसक्यो । मोटरसाइकल दुर्घटनामा परेर खुट्टामा समस्या हुँदा समेत उनले एकदिन आराम गर्न पाएनन् । बेन्डेज लगाएको खुट्टाले उनले नियमित रुपमा ड्युटी गरिरहनु परेको छ ।

फ्याक्चर खुट्टामा काम गर्दै झा

कोरोना संक्रमण तीब्र भइरहेका बेला पिसिआर परीक्षण गर्ने ल्यावमा कार्यरत स्वास्थ्यकर्मीहरुको जिम्मेवारी बढेको छ । न उनीहरुले घरपरिवार भेट्न पाएका छन् न विदा लिएर आराम गर्न नै । स्वास्थ्य जोखिम मोल्दै उनीहरुले रातदिन काम गर्नु पर्ने बाध्यता छ । मेची कनकाई ल्यावमा इन्चार्ज झाले खुट्टा खोच्याउँदै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । ‘ बाइक दुर्घटनामा परेर खुट्टाको तीनवटा औंला फ्याक्चर भएको २१ दिन भइसक्यो’ उनले भने ,‘ एकदिन पनि आराम गर्न पाएको छुइनँ ।’ दुर्घटनामा परेको दिन पनि बेन्डेज गरेर काम गरेको समस्या उनले सुनाए । बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म उनले ड्युटी गर्नैपर्छ ।

स्वाब संकलनका क्रममा झा

रौतहटको गौर घर भएर हाल बिर्तामोड ३ मा बस्दै आएका मेडिकल बायोकेमिष्ट झाले घर नबसेको दुई महिना भइसक्यो । पिसिआर परीक्षण शुरु भएदेखि नै परिवारसँग उनले बस्न पाएका छैनन् । ‘घर नबसेको दुई महिना भयो ’ उनले भने ,‘ कहिलेकाही घर जान्छु परिवारका सदस्यहरुलाई टाढैबाट हेरेर फर्कन्छु ।’उनको घरमा श्रीमती , ८ र ४ वर्षका दुई छोराहरु रहेका छन् । ‘पिसिआर परीक्षण शुरु भएदेखि मैले छोराहरुलाई अँगालो हाल्नु परको कुरा, छोएको पनि छैन’ उनले भने । मेची पिसिआर ल्याब र कनकाई पिसिआर ल्याबमा ६—६ जना जनशक्ति रहेका छन् । कनकाईका कर्मचारीहरुको व्यवस्थापन कनकाई नगरपालिकाले गरिदिएको हो । मेचीकै मातहतमा कनकाईको ल्याव संचालित छ । मेचीले दिनको ३०० देखि ४०० र कनकाईले २०० देखि २५० सम्म पिसिआर परीक्षण गर्ने गरेका छन् । कनकाईमा मास्टर्स डिग्री गरेका जनशक्ति नभएका कारण कोटीहोममा आएर कनकाईको ल्याब पनि हेर्नु परिरहेको मेचीका फोकल पर्सन झाले बताए । ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरु क्वारेन्टाइनमा बस्छन् । उनीहरुले हप्तामा एकपटक आफ्नो पिसिआर परीक्षण गराउने गरेका छन् । स्वास्थ्य सुरक्षाका सबै सावधानीहरु अपनाएर आफूहरुले स्वाब परीक्षण गर्ने गरेको झाले बताए । जोखिम मोल्दै काम गर्ने स्वास्थ्यकर्मीहरुले तलबबाहेक अन्य सेवासुविधा नपाएको गुनासो गर्छन् । ‘ दिने हल्ला मात्र हो कि के हो ? ’ झाले भने,‘ चैत ११ गतेदेखि काम थालेको अहिलेसम्म तलबबाहेक केही पाएको छैन ।’ उनले चैत ११ गते पहिलो स्वाब संकलन गरेका थिए । त्यसबेला डर लागेको बताउने झा अहिले डर मान्दैनन् । ‘ यो क्षेत्रमा काम गरेको ११ वर्ष भयो पहिलोपटक स्वाब लिँदा डर लाग्यो ’ उनले भने ,‘ अहिले चाहिँ डर लाग्दैन ।’ उनले आमसर्वसाधारणलाई कोरोना भाइरसको हौवाको पछि नलागी डराएर होइन सावधानी अपनाएर जीवनयापन गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्