झापा , असोज ७ । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर — १० का ८६ बर्षिय बृद्ध रहेका छन् ।

ती बृद्धको उपचारका क्रममा विराटनगरको विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।भद्रपुर–१० घर भएका गहतराज थरका ८६ वर्षीय वृद्धको बिहान ५ः५० बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि वृद्धलाई उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको थियो । अस्पतालको आइसोलेसनका प्रमुख डा. पुरु कोइरालाका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका वृद्धलाई भदौ ३ गते उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो । त्यही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको उनले बताए ।रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनको आइसीयूमा भर्ना गरेर उपचार थालिएपनि वृद्धलाई बचाउन नसकिएको डा. कोइरालाको भनाइ छ ।
उनका अनुसार वृद्धलाई ज्वरो, नियमोनिया र श्वासप्रश्वासमा समस्या थियो। कोरोनासँग लक्षण मिल्ने जटिल खालको निमोनिया देखिएपछि उपचारका क्रममा बचाउन धेरै प्रयास गरिएको उनको भनाइ छ ।कोइरालाका अनुसार वृद्धमा मृगौला सम्बन्धी समस्या पनि थपिएको थियो। मृतकमा मधुमेहको पुरानै समस्या रहेको उनले बताए । उपचारका लागि विराटनगर गएका ती बृद्धको त्यही कोरोना संक्रमण पुष्टि भएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । उनी मिर्गौलाको उपचारका लागि हस्पिटल गएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ५ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्