झापा, १० असोज । झापा कारागारका आठ जना कैदीबन्दीलाई कोरोना संक्रमण देखिएपछि कारागार प्रशासनले आइसोलेसन बनाउने तयारी थालेको छ ।

कारागारको छतमाथि कोरोना संक्रमित कैदीहरुलाई राख्नका लागि आइसोलेसन बनाउन थालिएको हो । थप कैदीहरुलाई संक्रमण देखिए समस्या हुने भएपछि कारागारभित्रै आइसोलेसन बनाउन थालिएको कारागार प्रमुख राजेन्द्र गौतमले बताए । उनले दुई सयजना अट्ने क्षमताको आइसोलेसन निर्माण गरिने जानकारी दिए । आइसोलेसनका लागि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ५० थान त्रिपाल कारागारलाई आज प्रदान गरेको छ । झापा कारागारमा रहेका ७ कैदीसहित १० जनालाई हिजो संक्रमण पुष्टि भएको थियो । असोज ५ गते कारागारका १७ जनाको पिसिआर परीक्षण गराउँदा १० जनामा संक्रमण पुष्टि भएको भद्रपुर नगरपालिकाका क्वारेन्टाइन प्रमुख मनोज भट्टराईले बताए । यसअघि असोज ५ गते कारागारका एकजना कैदीलाई संक्रमण देखिएको थियो । उनीहरुको उपचार भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा भइरहेको छ ।

रेडक्रसले उपलब्ध गराएको त्रिपाल

कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । ३५० कैदीबन्दी क्षमता रहेको झापा कारागारमा हाल ८२ महिला र १०६१ पुरुष गरी कैद भुक्तान गरिरहेका र पुर्पक्षका लागि थुनामा राखिएका जम्मा ११४३ जना कैदीबन्दी रहँदै आएका छन् । कारागार प्रमुख गौतमले कैदीबन्दीमा कोरोनासँगै केही मौसमी ज्वरो फैलिएको बताए । ‘ कोरोना संक्रमितहरुमा लक्षण देखिएको छैन ’ उनले भने, ‘ कोरोनासँगै केहीलाई ज्वरो , रुघाखोकी पनि देखिएको छ ।’ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको र कोभिड–१९ को संक्रमण भित्रभित्रै फैलिइरहेकाले सरकारले गम्भीर ध्यान दिनुपर्ने कैदीबन्दीहरुले माग राखेका छन् । आइसोलेसनका लागि त्रिपाल सहयोग गर्न गएका रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले कारागारमा कैदी, सुरक्षाकर्मी र कर्मचारीहरुलाई कसरी सुरक्षित पार्ने चिन्ताको बिषय भएको बताए । उनले त्यस विषयमा गम्भीर हुन सरकारको तत्काल ध्यानाकर्षण गराउँदै सहयोगी मनहरुलाई आबश्यक पर्ने स्वास्थ एवं अन्य आबश्यकीय सामग्री सहयोगको लागि अनुरोध गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्