भद्रपुर, कार्तिक १८ । भद्रपुरमा सघन सहरी विकास आयोजनाअन्तर्गत निर्माण भइरहेका सडकको गुणस्तरमाथि प्रश्न उठिरहेका बेला भद्रपुर १० स्थित विपी टोलमा निर्माण भइरहेको धनुषमोड घोडामारा सडकको काममा कमसल निर्माण सामग्री प्रयोग भएको आरोप लागेको छ ।
आयोजनाका प्राविधिक सडक निर्माणस्थलमा न्यून मात्रामा उपस्थित हुँदा सव वेश तथा वेश ग्राभेलिङको काम सम्पन्न गर्दा निर्माण कम्पनीले मापदण्ड अनुसार निर्माण सामग्री प्रयोग नगरेको स्थानीयले आरोप लगाएका हुन् ।

वेश ग्राभेलिङको काम सम्पन्न भएको विपी मार्गको धनुषमोड खण्डमा मापदण्ड अनुसार निर्माण सामग्री प्रयोग नहुँदा कालोपत्रेको अवस्थामा पुगेको सडकमा पानी पर्दा जमिरहेको देखाउँदै स्थानीय अरविन्द अधिकारीले कमसल सामग्री प्रयोग भएको दावी गरे ।
श्रेष्ठ कन्स्ट्रक्सनले निर्माण गरिरहेको सो सडकमा प्रयोग भएका सामग्री कमसल रहेकोले वेश ग्राभेल भत्कन थालेको स्थानीयको आरोप छ । स्थानीयका अनुसार ग्राभेलिङमा एकरूपता नहुँदा कतैकतै पानी जम्ने समस्या देखिएको हो ।
निर्माण सम्पन्न भएका तथा रकम भुक्तानी दिइएका सडक समेत चिराचिरा हुँदै भत्कन थालेको भन्दै स्थानीयले तलैदेखि राम्रो काम हुनु पर्ने माग राखेका छन् ।
निर्माण कम्पनीले पनि कामदारका भरमा रातारात काम गर्ने गरेको छ । सोही कारण आवश्यक मात्रा नमिलेर ग्राभेल धसिने अवस्थामा आइपुगेको स्थानीय बताउने गर्छन् । भद्रपुर नगर क्षेत्रमा पहिलो, दोश्रो र तेस्रो चरण गरी तीन खण्डमा भइरहेका अधिकांस सडक स्तरीकरणका काम निर्माण ठेकेदार कम्पनीले कन्ट्राक्ट ठेकेदारका भरमा जिम्मा लगाउँदा निर्माण गुणस्तरमाथि प्रश्न उठ्ने गरेको छ ।
निर्माण सम्पन्न भएका सडकका नाली चर्कने, ग्राभेलिङ तथा कल्भर्ट धसिने र कालोपत्रे उक्कने समस्या देखिन थालेको स्थानीय विष्णु राजवंशीको भनाइ छ । राजवंशीका अनुसार सडक निर्माणस्थलमा सरकारी प्राविधिक टोली कमै मात्र आउने गरेका छन् भने निर्माण ठेकेदार कम्पनीका प्राविधिक पनि पेटीे कन्ट्राक्टरका कामदारको भरमा विश्वस्त भएर निर्माणाधीन संरचना बनिइरहेका छन् ।
नियामकको भूमिकामा रहेको सघन शहरी विकास कार्यालय भद्रपुरका इञ्जिनियर भने सघन शहरी विकासअन्तर्गत भइरहेका कामको गुणस्तर कमसल हुन नदिइएको दावी गर्छन् । निर्माण सम्पन्न भएपछि कतैकतै समस्या देखिए पुनः मर्मतसंहार गरेर मात्र ठेकेदार कम्पनीबाट सरकारले बुझ्ने आयोजना कार्यालयको दावी छ । यस आयोजनामा श्रेष्ठ कन्ट्रक्सन मकवानपुर—काठमाण्डौले ३० किमी, गजुरमुखी कन्स्ट्रक्सन इलामले २३ किमी, खनाल कन्स्ट्रक्सन इलामले ६ किमी र पुष्पाञ्जली जेभी अरनिको हेविटस जलथलले ५ किमी सडक नाला निर्माणको जिम्मा लिएर काम गरिरहेका छन् । बहुवर्षे आयोजनाअन्तर्गत ६ वटा प्याकेजमा २५ वटा योजनाका कामहरू पक्की नाला निर्माणसहित सडक विस्तार भइरहेको छ । दुई अर्व रुपैयाँमा ५ वर्षभित्र भद्रपुर नगरपालिकाभित्र रहेका साना तथा साँघुरा सडक फराकिला बन्ने निर्धारित लक्ष्य छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्