दमक, मंसिर १५ । कम्युनिष्टहरुले गरिबलाई सत्तामा पुग्ने भर्याङमात्रै बनाउने गरेको कांग्रेस नेताहरुले आरोप लगाएका छन् ।

झापाको शिवसताक्षीमा नेपाली कांग्रेसले निर्माण गरिदिन लागेको एक विपन्न महिलाको घरको आज शिलान्यास गर्दै कांग्रेस नेताहरुले गरिब नागरिकहरु अभाव र पीडामा छट्पटाई रहेका बेला गरिबको नारा बेचेर सत्तामा पुगेका कम्युनिष्टहरु कुर्सीको खेलमा लागेको आरोप लगाएका हुन् ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ११ मा घरबारविहीन विपन्न महिला भीमाकुमारी चौधरी राईको घरको शिलान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशबकुमार बुढाथोकीले नागरिकहरु कोरोना संक्रमणका कारण अक्सिजनसमेत नपाएर मरिरहेका बेला सत्तारुढ दल भने कुर्सीको खेलमा लागेको आरोप लगाए । उनले कांग्रेस सत्तामा भएपनि नभएपनि सधैं जनताको दुखमा रहेको भन्दै चाँडै घर निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण समितिलाई आग्रह गरे । कार्यक्रममा कांग्रेस झापा सभापति उद्धव थापाले कम्युनिष्टहरुको सिद्धान्त नै लुटतन्त्र भएको भन्दै कांग्रसले मात्रै नागरिकको दुख र पिर बुभ्mन सक्ने बताए । नागरिकहरु महँगी र बेथितिले ग्रस्त भएका बेला सत्तारुढ दलका नेताहरु निर्लज्ज भएर कुर्सीको खेलमा लागेको टिप्पणी गरे ।
शिवसताक्षी ११ दुधेमा नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको अगुवाईमा स्थानीय विपन्न महिला भीमाकुमारी चौधरी राईको घर निर्माण सुरु गरिएको कांग्रेस नगर सभापति पर्शुराम ढुंगानाले जानकारी दिए । एकल महिला , स्वास्थ्यमा समेत समस्या भएको र आप्mनो जमिन समेत नभएकोले १० धुर जग्गा खरीद गरी चारकोठे पक्की घर निर्माण गर्नको लागि काम थालिएको निर्माण समितिका संयोजक रहेका कांग्रेस नगर उपसभापति विनोद ढकालले बताए । आज शिलान्यास गरिएको घर आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको दिन हस्तान्तरण गर्नेगरी काम थालिएको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्