विमल दहाल,
माई इलाम , मंसिर १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बाटो बिराएर हिड्नेहरुलाई मुलबाटोमा ल्याएरै छोड्ने बताएका छन् ।

‘भिरमा हिड्नेहरुलाई मुलबाटोमा ल्याउँछौ’ खनालले दावी गरे । माई नगरपालिकामा १५ शैय्याको माई आधारभूत अस्पतालको माई २ को चौरीबारीमा शिलान्यास गर्दै इलाम क्षेत्र नम्बर १ का सांसदसमेत रहेका पूर्व प्रधानमन्त्री खनालले नेकपा कहिलै फुट्न नसक्ने ठोकुवा गरे । उनले नेकपाभित्रको विचार, दृष्टिकोण, अडान, कार्यशैली, भावना फरक भएपनि वाद, प्रतिवाद र संवादबाट निष्कर्षमा पुग्ने बताए ।
सांसद खनालले केही समुह ‘नेकपा फुट्यो भने हामी रोटी सेक्छौ, भन्दै रोटी बेलिरहेका छन्’ भन्दै उनीहरुले रोटी बेली नसकी नेकपाको समस्या समाधान हुने दावी गरे । आफूभन्दा एक बर्ष जेठो ७२ बर्षको पार्टी नेकपा भएकाले यो परिपक्व रहेको उनको दावी थियो । खनालले नेकपाको तीन तहकै सरकार भएकाले विकास निर्माणको कार्यलाई तिब्रता दिएको बताए । शिलान्यास कार्यक्रममा प्रदेशसभा सांसद काजीमान कागतेको विशेष आतिथ्यता र माई नगरपालिकाका नगर प्रमुख दिपककुमार थेबेको अध्यक्षता रहेको थियो । माई नगर आधारभूत अस्पताल निर्माणका लागि ९ रोपनी जग्गा दान गर्ने ख्याम ढकाल र हरि वाग्लेलाई समेत कार्यक्रममा आतिथ्यता गराइएको थियो । उपप्रमुख बिष्णुमाया आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन नविनकुमार पौड्यालले गरेका थिए । आजै ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल र सातै प्रदेशमा सातवटा सरुवा रोग अस्पताल शिलान्यास गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्