झापा , मंसिर १७ । इलामका एक दम्पतीको २४ घण्टाको अन्तरालमा दुखद निधन भएको छ ।

मृतक डबलसिंह र उनकी पत्नी अम्बिका

श्रीमान्लाई कोरोना संक्रमण भएर अस्पतालमा भर्ना गरिएपछि होम आइसोलेसनमा बसेकी श्रीमतीको पहिला निधन भयो । त्यसपछि कोरोना संक्रमित श्रीमान्को निधन भएको हो । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका कर्मचारी डबलसिंह वलमपाकी मगर र उनकी श्रीमती अम्बिकाको त्यस्तो दुखद निधन भएको हो । महेन्द्र रत्न बहुमुखी क्याम्पसमा त्रिवि कर्मचारी संघ इकाइ सभापति र पेशागत महासंघ नेपाल इलामका सहसचिव रहेका करिव ४५ वर्षिय डबलसिंहलाई संक्रमण पुष्टि भएपछि मंसिर ८ गते ईलाम अस्पतालले विराटनगरको नोवेल हस्पिटल रेफर गरेको थियो ।

हिजो रातिअम्बिकाको मृत्यु भएको हो भने गएराति डबलसिंहको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विराटनगरको नोवेल अस्पतालमा उपचार गराईरहेका डबलसिंहको मंसिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार गरिएको थियो । ८ गते स्वाव संकलन गर्दा उनको रिपोट पोजेटिभ देखिएको थियो । मंसिर १३ भ्यान्टिलेटरबाट निकालेर उपचार गरिएको थियो । १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले अम्बिकालाई श्रीमानको स्वास्थ्य अवस्थावारे जानकारी गरायो ।

अस्पतालबाट आफ्ना श्रीमानको स्वास्थ्य स्थितीबारे जानकारी पाएपछि श्रीमतिले श्वास फेर्न अप्ठ्यारो भएको जानकारी गराइन् र उनलाई अस्पताल लगियो । अस्पताल नपुग्दै उनको मृत्यु भयो ।

अम्बिका भने ईटहरीस्थित माईती घरमा होम आईसोलेसनमा बस्दै आएकी थिइन् ।उनलाई उच्च रक्तचापको समस्या रहेको थियो । उनको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको थियो । श्रीमान्लाई कोरोना देखिएपछि डर र चिन्ताका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । अम्बिकाको हिजो बुढीगँगा खोला ईटहरीमा अन्तिम संस्कार गरिएको थियो । श्रीमतीलाई हिजो गुमाएका डबलसिंहको गएराति नोवेल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको शिक्षक युवराज कट्टेलले बताए । डबलसिंहलाई विराटनगरमा नै अन्तिम संस्कार गर्न लागिएको उनले बताए । यसरी दुवै दम्पतीको निधन भएपछि महेन्द्र रत्न बहुमुखी क्याम्पसमा शोक छाएको छ । यस घटनाबाट अत्यन्त दुख लागेको क्याम्पसका प्राध्यापक देवराज घिमिरेले बताए ।
पेशागत महासंघ नेपाल जिल्ला कार्य समिति ईलामका सह सचिव डबलसिंह र उनकी पत्नी अम्बिकाको २४ घण्टाको बीचमा भएको दुःखद निधनप्रति पेशागत महासंघ नेपाल १ प्रदेश समितिले पनि दुख ब्यक्त गरेको छ । इलाम फाकफोकथुम ४  स्थायी ठेगाना भएका दुवै दम्पती महेन्द्र रत्न बहुमुखी क्याम्पसको क्वाटरमा बस्दै आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्