बिर्तामोड, मंसिर २८ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले क्षितिज नाट्य समूह झापाको अगुवाईमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरलाई पूर्णता दिन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको अनुगमन तथा निरिक्षण गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।


युरोपतिर सभ्यताको परिभाषा नै त्यस देशका वासिन्दा कति पटक नाटक हेर्न जान्छन् भन्ने कुराले निर्धारण गर्ने भएकाले नेपालमा पनि सभ्यताको सूचक नाटकलाई बनाउनु पर्नेमा उनले जोड दिए । आफू भ्याएसम्म नाटक हेर्न जाने गरेको वताउँदै उनले नाटकले समाजका विकृति विसंगतिको भण्डाफोर गर्ने बताए । काठमाडौं विश्वविद्यालयलाई आग्रह गरेर नाटक पढाउने ,संगीत पढाउने पाठ्यसामाग्री बनाउन लगाएको बताउँदै उनले क्षितिज नाट्य समूहलाई पनि पाठ्यक्रम विकाससंग जोडिन आग्रह गरे ।


सातवटै प्रदेशमा सातवटा संगीत र नाट्य बिधाको एकेडेमी बनाएर त्यहाँको ऐतिहासिक , भाषा ,साहित्य , संस्कृतिको संरक्षण र सम्वद्र्धन गरिने उनले बताए । क्षितिज नाट्य समूह झापाको अगुवाईमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरका लागि आफू काठमाडौं गएर संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईसँग कुरा गरेर यसलाई पूर्णता दिने उनले प्रतिवद्धता जनाए । रंग साहित्यको विकासका लागी क्षितिज नाट्य समूह झापाले खेलेको भूमिकाको प्रसंशा गर्दै उनले बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको निर्माण पूरा गरेपछि आफू चाँडै नाटक हेर्न आउने प्रतिवद्धता जनाए ।


त्यस्तै प्रदेश साँसद झलकसिंह दर्लामी सन्देशले बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेकाले यसलाई पूर्णता दिन आफू लागीपर्ने बताए । झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईले झापा नाटक घर निर्माणको उद्धेश्य , लक्ष्य र भावी योजनाबारे प्रकाश पारेका थिए । क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले मन्त्री तथा साँसद दर्लामीलाई झापा नाटक घर निर्माणमा भइरहेको प्रगतिवारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्