काँकरभिट्टा , माघ १० । स्व.अर्जुन तामाङ स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि डुँडाबारी फुटबल क्लबले हात पारेको छ ।

प्रतियोगिताअन्तर्गत शुक्रबार भएको फाइनल खेलमा डुँडाबारी फुटबल क्लबले शिवसताक्षी धाम फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । प्रतिष्पर्धात्मक फाइनल खेलमा डुँडाबारी फुटबल क्लबका प्रितम लिम्बूले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, त्यसलाई बराबरी बनाउने क्रममा शिवसताक्षी धाम फुटबल क्लबका रेजिन मेचेले १ गोल गरे । निर्धारित समयसम्म दुवै टिमबाट समान १–१ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा भएको फाइनल खेलमा उत्कृष्ट खेल्दै गोल गरेका विजयी टिम डुँडाबारी फुटबल क्लबका प्रितम लिम्बू म्यान अफ दि म्याच घोषित भए । उनलाई नगद दुईहजार पाँच सय रुपैयाँसहित ट्रफी प्रदान गरियो ।
प्रतियोगिताको म्यान अफ दि सिरिजको उपाधि शिवसताक्षी धाम फुटबल क्लबका सञ्जीव राईले हात पारे । उनले नगद तीनहजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । त्यस्तै बेष्ट गोल रक्षकको उपाधि डुँडाबारी फुटबल क्लबका सन्दिप लिम्बूले हात पार्दै नगद दुईहजार पाँच सय रुपैयाँसहित ट्रफी पाए ।

बेष्ट डिफेन्डर शिवसताक्षी धाम फुटबल क्लबका टेकेन मगर र बेष्ट मिडफिल्डर शिवसताक्षीका रोहन कार्की घोषित भए । उनीहरुले जनही नगद दुईहजार पाँच सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
सो प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष शंकर थापा, विशिष्ट अतिथि काँकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङ, अतिथि नेपाल ढुवानी व्यवसायी महासंघ केन्द्रीय सदस्य श्याम प्रसाई (एसपी), स्व.अर्जुन तामाङका पिता इन्द्रबहादुर तामाङलगायतले नगद पुरस्कार क्रमशः ५० हजार र २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरेका थिए ।
तुर्केनी फुटबल क्लबका अध्यक्ष रामकुमार लिम्बूको अध्यक्षतामा भएको फाइनल प्रतियोगिता कार्यक्रममा स्वागत उपाध्यक्ष दिलकुमार लिम्बू र सञ्चालन क्लबका सल्लाहकार डिल्लीराम अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्