बिर्तामोड , माघ १४ । उमेरले ६० पुगेकी बिर्तामोड ६ स्यालडाँगीकी प्रमिला राजवंशीले गह्रुँगो ढुंगा गिट्टी बोक्ने काम गरेको ३० वर्ष जति भयो । जवानीको उमेरदेखि नै उनले लेवरको काम थालेकी थिइन् । बृद्ध अबस्थामा पुग्दासमेत अझै पनि उनी त्यही काममा घोटिरहेकी छन् ।

उनीसँगै बालुवा चाल्ने काम गरेका राजु राजवंशी सन्तोष मिस्त्री बने । मिस्त्रीपछि ठेकेदार बनेर नाम दाम दुईवटै कमाइसके । साना निर्माणकर्मी संघका अध्यक्ष राजुले अग्रगामी छलाङ मारिसके । तर, प्रमिला जहीको त्यही । निर्माण क्षेत्रमा मजदुर गरेर उनले भिटासमेत जोड्न सकेकी छैनन् । भद्रपुरको माविको सरकारी जग्गामा उनको घर छ । श्रीमान् नभएकी प्रमिलाका दुईवटा छोरा पनि निर्माण क्षेत्रमै कार्यरत छन् ।

त्यसैगरी बिर्तामोड ४ रामाउत टोलकी ६० वर्षिया मीना चौधरीले पनि लेवर काम गरेको १३ वर्ष भयो । उनी अझै तल्लो तहको लेवरकै काम गर्छिन् । सँगै काम थाल्नेहरु ठेकेदार भइसके । तर , मीना लेवरको लेवर । यी केही उदाहरण मात्र हुन् । निर्माण क्षेत्रमा कार्यरत आदिबासी महिला श्रमिकहरुको अबस्थालाई यसले दर्शाएको छ । ठूलो सँख्यामा असंगठित र अव्यवस्थित रुपमा आदिवासी महिलाहरु कार्यरत छन् । बिर्तामोड क्षेत्रमा करिव ५ हजारको सँख्यामा राजवंशी , धिमाल , चौधरी , सन्थाल समुदायका महिलाहरु लेवरको काम गर्छन् । उनीहरुको क्षमता र स्तर अभिबृद्धिका लागि अहिलेसम्म कतैबाट पहल भएको छैन । विगतमा झापा , मोरङ र सुनसरीमा आदिवासी राजवंशीहरु सम्पन्न रहेका थिए । समय परिवर्तनसँगै उनीहरु अधिकांश भूमिहीन बनेका छन् । अरु कुनै उपाय नभएपछि गुजारा गर्नका लागि धेरै महिलाहरु निर्माण क्षेत्रमा मजदुरी गर्न पुगेका छन् । घर निर्माण, विकास निर्माण, ढलाई , मार्बललगायतका काममा उनीहरुको संलग्नता रहेको छ ।

प्रमिलाको विगत कोट्याउँदा उनको परिवारको पनि जग्गाजमिन थियो । भूमिपतिबाट अहिले भूमिहीन बनेका छन् ।‘ पहिला त निकै थियो अरे’ उनले संझदै भनिन्,‘अहिले त एक धुर पनि छैन ।’ उनी आफ्नो भाग्यलाई सराप्छिन् । हौसला र तालिमको अभाव भएकी उनी भन्छिन् ,‘ जति गरेपनि पुरुषजस्तो सक्दै सक्दिनँ होला । ’ कहीकतैबाट टेवा नपुगेकै कारण आदिवासी महिला श्रमिकहरुको वृतिविकास नभएको साना निर्माणकर्मी संघका अध्यक्ष राजु बताउँछन् । आफूसँगै लेवर काम थाल्ने महिलाहरु वर्षौदेखि त्यही काममा लागिरहँदा अप्ठ्यारो महसुस भएको उनले बताए । उनले आदिबासी महिला श्रमिकहरुको समस्यालाई गहन रुपमा लिई उनीहरुलाई संगठित र व्यवस्थित गर्न जरुरी भएको धारणा राखे । आदिबासी महिला श्रमिकहरुको साझा समस्यालाई दृष्टिगत गरी राजवंशी समाज विकास समिति बिर्तामोड ५ ले दुईदिने सशक्तिकरण कार्यक्रम राखेको थियो । कार्यक्रममा सहभागी महिलाहरुले आफूहरुलाई ठेकेदारले सरकारले तोकेको ज्याला नदिएको गुनासो गरे । उनीहरुले ४५० देखि ५०० रुपैयाँसम्म दैनिक ज्याला पाउने गरेका छन् । जवकी सरकारले लेवरको ज्याला ५६० रुपैयाँ तोकेको छ । त्यसैगरी पेशागत सुरक्षा , काम गर्ने ठाउँको सुरक्षा , मर्यादालगायतका विषयमा पनि उनीहरुले कुरा उठाएका थिए । निर्माण क्षेत्रमा कार्यरत आदिवासी महिलाहरुको गहन समस्या भएरै आफूहरुले त्यसलाई कार्यक्रममार्फत उठान गरेको राजवंशी समाज विकास समिति बिर्तामोड ५ की अध्यक्ष रुपा राजवंशीले बताइन् । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय झापाका प्रमुख कृष्णप्रसाद राजवंशी र साना निर्माणकर्मी संघका प्रमुख सल्लाहकार कृष्ण भट्टराईले सहजीकरण गरेको कार्यक्रममा २० जना आदिबासी महिला श्रमिकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्