दमक, फागुन १० । पत्रकार मञ्च दमकले आज आयोजना गरेको साधारणसभा नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालले बहिष्कार गरेका छन् ।

ती दुवै संगठनले आज संयुक्त विज्ञप्ति निकालेर मञ्च विधि र प्रकृयाबाट नचलेको भन्दै साधारणसभा बहिष्कार गरेको जनाएका हुन् ।
विज्ञप्तिमा मञ्चको कार्यकाल दुई वर्ष भएपनि अधिबेशन गर्न नचाहेको, साधारणसभामा पत्रकार महासंघसहित अन्य पत्रकारजन्य संघसंगठनहरुलाई बेवास्ता गरेकाले नैतिक रुपले साधारणसभामा बस्न उपयुक्त नभएको उल्लेख छ ।
विज्ञप्तिमा युनियनका माईपश्चिम अध्यक्ष विष्णु सुब्बा र प्रेस संगठनका तर्फवाट अनिलदेव राईको हस्ताक्षर छ । ती दुवै संगठनले मञ्चलाई विधान अनुसार सञ्चालन गर्नका लागि अविलम्ब अधिबेशनको मिति तय गर्न माग गरिएको जनाईएको छ ।

पत्रकार मञ्चको साधारणसभा सम्पन्न

नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालका पत्रकारहरुको वहिष्कारका बीच पत्रकार मञ्च दमकले एघारौँ साधारणसभा गरेको छ । राष्ट्रिय सभाका सदस्य देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो ।
मञ्चका अध्यक्ष मनकुमार गदालले संस्थाको प्रतिवेदन, कार्यवाहक कोषाध्यक्ष धनबहादुर थेवेले आर्थिक प्रतिवेदन पेस गरे । त्यस अवसरमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले पत्रकार मञ्चको अक्षय कोषका लागि ५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरे । त्यस्तै, सांसद दाहालले मञ्चको अक्षय कोषमा ५० हजार रुपैयाँ दिने घोषणा गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्