दमक,फागुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कमल ७ स्थित झर्कामा आयोजना गरिएको चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै ओलीले आफूलाई हटाएर देखाउन चुनौती दिएका हुन् ।
संसद पुनस्र्थापना चिन्ताको विषय नभएको बताउदै उनले आफूलाई अविश्वासको प्रस्ताव राखेर हटाए जनतामा गएर दुईतिहाइ ल्याइदिने बताए । ‘तपाईंहरुले लडेर जब संसद फिर्ता गरेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुहोस्’ उनले भने, ‘अविश्वासको प्रस्ताव राख्नुहोस्, अनि पास गर्नुहोस् । ’
।पहिला पनि अविश्वासको प्रस्ताव राखेर हटाएको र पछि आफू जनताबाट निर्वाचित भएर आएको उनले चर्चा गरे । उनले थपे,–‘अहिले पनि तीन करोड नेपाली जनताबाट दुईतिहाइ ल्याएर देखाइदिन्छु ।’
उनले आफू मुद्दा जितेर नभई जनताबाट निर्वाचित भएर, जनताको आशीर्वाद लिएर प्रधानमन्त्री भएको बताउँदै मुद्दा हार्दैमा आफूलाई केही फरक नपर्ने स्पष्ट पारे ।
‘म त जिन्दगीमा मुद्दा हार्दै आएको मान्छे हो, उहिले पनि मुद्दा हारेकै हो । गल्ती नगर्ने, मुद्दा हार्ने, गल्ती नगर्ने, मुद्दा हार्ने कुरा निरन्तर भोगेकै हो’ उनले भने, ‘कसैले मुद्दा जिताइदिएर म प्रधानमन्त्री भएको होइन । मलाई तीन करोड नेपाली जनताले प्रधानमन्त्री बनाइदिएका हुन् ।’
उनले आफूहरुले बलिदानी गरेर ल्याएको लोकतन्त्रलाई तलमाथि पर्न नदिने बताए । देशको विकास रोक्न आफूलाई हटाउन खोजेको ओलीको दाबी छ ।
चन्द समूहसंग चाँडै वार्ता
प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव समूहसँग चाँडै वार्ता गरिने बताएका छन् । उनले यसको प्रकृया चलिरहेको र केही दिनमा नै विप्लवसँग वार्ता भएको थाहा पाउने बताए । कम्युनिष्ट एक बनाउने आफनो लक्ष्य कायमै रहेको र अव कसैले पनि आन्दोलन गर्नुपर्ने दिनको अन्त्य गरिने उनले सुनाए ।उनले भने–‘विकासको क्रममा हामी अघि बढेका छौं, संयुक्त राष्ट्रसंघीय निकायले नेपाललाई विकासशील देशको सूचीमा राख्न सिफारिस गरिसकेकाले पनि हामी कता जाँदैछौं देखाएको छ । अलिकति समस्या शान्तिसँग जोडिएको विषय छ तर त्यो समस्या पनि वार्ताबाट नै समाधान गरिने छ ।’
पाँच वर्षभित्रमा दमकमा औद्योगिक पार्क बन्ने
ओलीले पाँच वर्षभित्रमा दमकमा सुविधासम्पन्न औद्योगिक पार्कले पूर्णता पाउने बताएका छन् ।
कमल गाउँपालिका ७ मा रहेको झर्कामा आयोजना गरिएको चीन –नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास समारोहलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले पाँच वर्षभित्रमा औद्योगिक पार्कको पूर्वाधार पूरा भई दश वर्षभित्रमा पूर्ण रुपमा सञ्चालनमा आउने बताए ।
औद्योगिक पार्कले दुई वर्षभित्रमा ४५ हजारलाई रोजगारी दिनुका साथैं विश्व बजारसम्म यहाँका उत्पादनले बजार पाउने उनले सुनाए ।
सरकारले देशैभरि यस्ता औद्योगिक पार्क स्थापनाको काम शुरु गरेको बताउँदै उनले देशैभरिका औद्यागिक पार्कमा रोजगारीसंगै देशमा आर्थिक क्रान्ति आउने बताए । देशभर विकासमा लहर आएको जिकिर गर्दै उनले औद्योगिक क्रान्तिपछि विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि देश अघि बढ््ेको बताए ।
सरकारले तीन वर्षमा नै चमत्कारको काम गरेको दावी गर्दै प्रधानमन्त्री ओलीले देशलाई तीब्र विकास गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरेको दावी गरे ।
दमक, कमल र गौरादहमा बन्ने औद्योगिक पार्क नेपाल र चीनबीचको मित्रताको नयाँ प्रतिक समेत बन्ने ओलीले धारणा राखे । औद्योगिक पार्कको प्रारम्भिक कार्यका लागि ३ अर्व रुपैयाँ सुनिश्चित भईसकेको जानकारी दिए ।
औद्योगिक पार्क शिलान्यास समारोहमा पार्कका अध्यक्ष गोविन्द थापाले देशका अन्य भागका औद्योगिक क्षेत्रभन्दा यो वृहत हुने जनाए ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले देशलाई समृद्ध र विकासको अभियानमा लैजान कसैले रोक्न नसक्ने उल्लेख गरे ।
सोही कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले देशमा विकास र समृद्धिमा अघि बढिरहँदा आफनै पार्टीभित्र प्रतिपक्षको उदय हुनु दुखद भएको टिप्पणी गरे ।
कार्यक्रममा राजा राजेन्द्र, प्रकाश सपुत, अस्मिता अधिकारी, सिद्धान्त खड्कालगायतका कलाकारहरु पनि ओलीसँग आएका थिए । उनीहरुले विभिन्न मनोरञ्जनात्मक तथा सांंगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै ,चीनका प्रतिनिधिले पनि म्यूचलमार्फत कार्यक्रममा सम्वोधन गरेका थिए ।

एकैदिन चार पुलको उद्घाटन,३१ पुलको शिलान्यास
प्रधानमन्त्री ओलीले दमकलाई अन्य पालिकासंग जोडिनेगरी विभिन्न चारवटा पक्की पुलको उद्घाटन गर्नुका साथै ३१ वटा पुलको शिलान्यास गरे । उनले कमल गाउँपालिकाको क्याम्पादेखि मंगलवारे जोड्ने कमल खोलामा निर्मित पुल, दमक १० लाई मोरङको उर्लावारी जोड्ने मावा खोलामा निर्मित पुल ,सोही वडाबाट कमल गाउँपालिका हुँदै गौरादह जोड्ने स्थानमा रहेको रतुवा खोलामा निर्मित पुलको समेत उद्घाटन गरे ।
त्यस्तै, उनले दमक १ बाट कमल गाउँपालिका हुँदै इलामको चुलाचुली जोड्ने स्थानको रतुवा खोलामा निर्मित पुल उद्घाटन गरे ।वैकल्पिक मार्गको रुपमा रहेको मदन भण्डारी चुरे राजमार्गमा पर्ने सो स्थानको पुलसँगै पूर्वी खण्डका ३१ वटा पुलको एकैसाथ शिलान्यास गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्