बिर्तामोड, बैशाख २ । आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई हराउँदै पाहुना टोली बिर्तामोड युनाइटेड क्लबले झापाको बुट्टाबारीमा संचालित जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बिहीबार बुट्टाबारीमा सम्पन्न फाइनल खेलमा बिर्तामोडले बुट्टाबारीबिरुद्ध ४–२ को जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।
पहिलो हाफ १–१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा बिर्तामोडले थप दुई गोल गर्दै जित निश्चित गरेको थियो । खेलको १९ औँ मिनेटमा बिर्तामोडका सूर्य टुडुले गोल गर्दै अग्रता दिलाएपनि ३१ औँ मिनेटमा बुट्टाबारीका बबिन बोहोराले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए ।
खेलको ४८ औँ मिनेटमा बिर्तामोडका आशिष चापागाईंले गोल गर्दै नतिजा २–१ मा पुर्याए । बुट्टाबारीले खेलमा फर्कने कोसिस गरेपनि उपाधि रक्षा गर्न भने सकेन । ५४ औँ मिनेटमा बिर्तामोडका प्रशान्त लक्समले आफ्नो टिमका लागि तेस्रो गोल गरे ।
बुट्टाबारीका बबिनले ७४ औँ मिनेटमा टिमका लागि व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए । तर, त्यसको ४ मिनेटपछि बिर्तामोडका विक्रम तामाङले गोल गर्दै नतिजा ४–२ बनाए । उपाधिसँगै बिर्तामोडले नगद ५५ हजार, मेडल र ट्रफी पाएको छ । उपविजेतामा सीमित आयोजक बुट्टाबारीले नगद ३३ हजार, मेडल र ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगिताको बेस्ट गोलकिपर बिर्तामोडका अभिषेक रिजाल, बेस्ड डिफेन्स बिर्तामोडकै विशाल बस्नेत, बेस्ड मिल्ड फिल्डर प्रशान्त लक्सम, उत्कृष्ट फर्वाड बुट्टाबारीका बबिन बोहोरा भए । प्रतियोगिताका राइजिङ खेलाडी बुट्टाबारीका विजय राई घोषित हुँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बुट्टाबारीकै विप्लव मैनाली भए ।
बिर्तामोडले नगरपालिका वडा नम्बर ६ र हरियाली सामुदायिक वन उपभोक्ता समूहको सहयोग तथा बुट्टाबारी युनाइटेड क्लबको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका आठवटा टिमले भाग लिएको अध्यक्ष हिमाल कन्दङवाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्