मेचीनगर, जेठ १४ । कोभिड १९ को संक्रमण दर बढिरहेका बखत मेचीनगर नगरपालिकाले आफ्ना नगरवासीका लागि खोप ल्याउने तयारी गरेको छ ।

यसका लागि मेचीनगर नगरपालिकाले संघीय सरकारसंग अनुमति मागेको छ ।
स्थानीय तहले खोप किन्न पाउने ब्यवस्था संघीय सरकारले नीतिगत रुपमा नै गरिदिनु पर्ने भएकाले नगरपालिकाले संघीय सरकारसँग यस्तो माग गरेको हो । कोभिड १९ का कारण कुनै पनि नगरवासीले मृत्युवरण गर्न बाध्य हुनु नपरोस भनेर नगरबासीको जीवन रक्षाका लागि नगरपालिकाले आफ्नै स्रोतबाट खोप किन्ने तयारी गरेको नगरप्रमुख विमल आचार्यको भनाई छ ।
नगरकार्यपालिकाको बैठकले कोभिड १९ बिरुद्धको खोप खरिद गर्ने निर्णय गरेको नगर प्रमुख आचार्यको भनाई छ । नगरपालिकाबाट पहिलो डोज लिएका धेरैले दोस्रो डोज लिन नपाएका कारण नगरपालिकाले आफैं खोप खरिद गर्न आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्ने समेत नगरप्रमुख आचार्यलाई उद्घृत गदैं मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।
सरकारले खोप खरिद गरेर दिन नसक्ने अवस्था सिर्जना हुने हो भने नगरपालिका स्थानीय सरकार खोप खरिद गर्न तयार रहेको उनको भनाई छ । मेचीनगरमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ भने अहिलेसम्म १६ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्