बिर्तामोड , असोज २ । नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालले अपांगता भएका व्यक्तिलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बीच वीरता जेसीजको साझेदारीमा बिर्तामोड वडा नम्बर १० का अपांगता भएका व्यक्तिका ३५ परिवारलाई चामल, दाल, तेल, नुनलगायतका खाद्यान्न वितरण गरिएको हो ।
लकडाउनको समयमा जीविकोपार्जनको कुनै उपाय नरहेको र दैनिकी चलाउन असहज भएको जानकारी पाएपछि उनीहरुलाई राहत उपलब्ध गराइएको युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले बताए । अध्यक्ष पौडेलले सामाजिक उत्तरदायित्व तथा मजदुरको हकहितमा काम गर्ने आफूहरुको संस्था भएकै कारण उनीहरुलाई सहयोग गरिएको जानकारी दिए ।

पौडेलको अध्यक्षता एवम् बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको औचित्यमाथि नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश सदस्य तथा राहत वितरण कार्यक्रमका संयोजक कुमार भट्टराईले प्रकाश पारेका थिए । अपांगता स्वाबलम्बन संस्थाका अध्यक्ष दिपक थापाले दातालाई धन्यवाद ज्ञापन गरेको कार्यक्रममा वीरता जेसीजका पूर्व उपाध्यक्ष तथा बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य जिवन खड्का, वडाध्यक्ष गुरुङलगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन युनिकम नेपालका प्रदेश नम्बर १ का अर्गनाइजर सागर रिजालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्