झापा , मंसीर २९ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा विजयी भएका छन्।


दोस्रो चरणमा हिजो भएको मतदानमा सभापति पदका अर्का उम्मेदवार डा.शेखर कोइरालालाई ८७८ मत अन्तरले पराजित गर्दै देउवा दोस्रो पटक सभापतिमा विजयी भएका हुन्। सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा ४ हजार ६ सय २३ मत खसेको थियो। जसमा देउवाले २७३३ र कोइरालाले १८५५ प्राप्त गरेका छन्। ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
पहिलो चरणमा सोमबार भएको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार देउवा र कोइरालाले दोस्रो चरणमा प्रतिस्पर्धा गरेका थिए।
पहिलो चरणमा तेस्रो, चौथो र पाँचौ स्थानमा आएका सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई सघाएका थिए। कांग्रेसमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि छन्।

पहिलो चरणमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेका थिए भने ७६ मत बदर भएको थियो। पहिलो चरणमा देउवाले २२५८ अर्थात ४८ दशमलव २३ प्रतिशत मत प्राप्त गरे भने डा.कोइरालाले १७२९, सिंहले ३७१, निधिले २४९ र गुरुङले २२ मत प्राप्त गरेका थिए। कांग्रेस विधान अनुसार सभापतिका लागि ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ। यदि ५० प्रतिशत नकाटेमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणमा चुनाव हुने व्यवस्था छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्