झापा, पुष २ । नेपाल चलचित्रकर्मी संघ प्रदेश नम्बर १ ले एम्बुलेन्स सेवा अभियानमा सहभागी चलचित्रकर्मीहरुलाई नगदसहित सम्मान गरेको छ ।

संघले शुक्रबार बिर्तामोडमा एक कार्यक्रम गरी एम्बुलेन्स खरिदका लागि सञ्चालन गरेको देउसीभैलो कार्यक्रममा सहभागी कलाकार तथा चलचित्रकर्मीहरुलाई सम्मान गरेको हो ।
सहभागी कलाकार तथा चलचित्रकर्मीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले सम्मानपत्र प्रदान गरेका थिए । उनले संघले थालेको अभियान प्रशंसनीय र मानव सेवाका लागि पवित्र कार्य भएको भन्दै संघलाई धन्यबाद व्यक्त गरे । साथै उनले संघले थालेको एम्बुलेन्स खरिद कार्यमा अस्पतालले सदैव सहयोग गर्ने प्रतिबद्धता ब्यक्तसमेत गरे ।

संघले प्रदेश नम्बर १ मा प्राकृतिक चलचित्र स्टुडियो निर्माण गर्ने र चलचित्रकर्मीका लागि दुर्घटना बिमा गर्नेलगायतका महत्वपूर्ण निर्णय गरेको संघका महासचिव रमेश तिवारीले जानकारी दिए । उनले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै संघले कोभिडको बिषम परिस्थितिमा चलचित्रकर्मीलाई स्वास्थ्य सामग्री तथा खाद्य सामग्री प्रदान गरिएको बताए । चलचित्रकर्मी संघले प्रदेश १ सरकारको सहयोगमा कोरोनाविरुद्वको खोपको व्यवस्था गरेको थियो । संघले एम्वुलेन्स खरिदको लागि देश विदेशमा रहेका दाताहरुसंग सहयोगको अपिलसमेत गरेको छ ।
संघका अध्यक्ष केवल तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठ,होटल व्यवसायी संघ झापाका महासचिव शिव पौडेल, नेपाल चलचित्रकर्मी संघकी सल्लाहकार भगवती ढुङ्गेल,उपाध्यक्ष किशोर सम्वाहाम्फेलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्