बिर्तामोड, पुष ११ । उत्कृष्ट खेल पस्किँदै मोरङको पथरी शनिश्चरे महिला एफसी तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आइतबार भएको दोस्रो दिनको खेलमा मोरङले विदेशी टोली भारत कालिम्पुङको श्री फुटबल क्लबलाई २–० को गोल अन्तरले पराजित गरेको हो
खेलको २६ औँ मिनेटमा मोरङकी मुना मगरले गरेको सुन्दर गोल नै जीतका लागि पर्याप्त भयो । मनिषा विष्टको क्रसलाई मगरले गोलपोस्टको दिशा दिएकी थिइन् । त्यस्तै, खेलको ५१ औँ मिनेटमा मोरङकी केरेन लिम्बूले गोल गर्दै अग्रता दोब्बर बनाइन् ।

खेल अवधिभर कालिम्पोङमाथि मोरङ हावी देखिएको थियो । दोस्रो हाफमा कालिम्पोङ खेलमा फर्किन खोजे पनि गोल गर्न भने सकेन ।
खेलको प्लेयर अफ द म्याच मोरङकी मुना मगर भइन् । उनलाई आयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङले नगद प्रदान गरे ।
दोस्रो संस्करणको प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्