दमक, पुष १७ । स्पाईनल ईन्जुरी अर्थात मेरुदण्डको पक्षघात भएकाहरुबीच झापाको दमकमा मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता भएको छ ।

लायन्स क्लव अफ दमक र रोटरी क्लव अफ दमकको संयुक्त आयोजनामा शनिवार दमकमा यस्तो प्रतियोगिता भएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि दमक नगर उपप्रमुख गीता अधिकारीले आफूले ह्विल चियरमा रहेर बास्केटबल खेल खेलेको पहिलो चोटी देखेको भन्दै यो आत्मबिश्वासलाई सबैले कदर गर्नु पर्ने बताईन् । ‘फरक क्षमता भएकाहरुको यो एउटा साहस र आत्मबिश्वास हो,’उनले भनिन् ।
दमक ८ स्थित जेम्स स्कूलमा भएको प्रतियोगितामा एक दर्जनभन्दा बढी खेलाडीहरुले ह्विल चियरमा रहेर मैत्रीपूर्ण बास्केटबल प्रतियोगितामा सहभागिता जनाएका थिए । दुई समूहमा बाँडिएर मैत्रीपूर्ण प्रतियोगितामा स्पाईनल ईन्जुरी संघ प्रदेश १ का पदाधिकारी तथा सदस्यहरुले लगातार ४० मिनेटभन्दा बढी सहभागिता जनाए ।

‘वास्तवमा नै हामीले सोचेका थिएनौं स्पाईनल ईन्जुरी भएकाहरु पनि बास्केटबल खेलमा कमजोर हुनुहुन्न रहेछ,’ लायन्स क्लव अफ दमकका अध्यक्ष अशोक चौधरीले भने । अग्रेजी महिनाको नयाँ बर्षमा यस किसिमको कार्यक्रम गर्दा आफूहरुलाई गर्व लागेको पनि उनले जनाए । आगामी दिनमा पनि यस प्रकारको कार्यक्रममा आफूहरुको साथ र सहयोग रहने पनि उनले प्रतिबद्धता जनाए ।
रोटरी क्लव अफ दमकका अध्यक्ष भरत चम्लागाँईले रोटरी र लायन्स मिलेर सम्भवतः झापामा नै पहिलो पटक स्पाईनल ईन्जुरी अर्थात मेरुदण्डको पक्षघात भएकाहरुबीच यो मैत्रीपूर्ण खेल गराएको भन्दै आफूहरुले सधै यस्ता कार्यलाई प्रोत्साहन गर्ने बताए । ‘हामी फरक क्षमता भएकाहरुको साथमा सधै छौ र रहन्छौ,’ उनले भने । खेल हेर्दा आफू पनि निक्कै अचम्भित भएको उनले सुनाए ।

लायन्स लिडर अजयकुमार अग्रवालले लायन्स क्लव अफ दमक र रोटरी क्लव अफ दमकको सहकार्यमा भएको यो फरक किसिमको कार्यक्रम फरक क्षमता भएकाहरुका लागि मात्र नभएर सबैका लागि एउटा हौसला भएको बताए । ‘स्पाईनल ईन्जुरी अर्थात मेरुदण्डको पक्षघात भएकाहरु कमजोर हुन्नन् र छैनन् भन्ने यो खेलले पुष्टि गर्यो,’ उनले भने ।
अपाङगताभित्रको अर्को अपाङगता स्पाइनल इन्जुरी भएको बताउँदै आफूहरु संगठित बन्दै गएको स्पाईनल ईन्जुरी संघ प्रदेश १ का अध्यक्ष विक्रम घिमिरेले बताए । पूर्वमा पहिलो पटक आफुहरुले बास्केटबललाई ब्यावसायिक रुपमा अघि बढाउने जमर्को गरेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्