दमक, पुष १७ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो साधारणसभाको क्रममा शनिबार दमकमा कार्यक्रम सम्पन्न गरेको छ ।

झापा, मोरङ र ईलाम जिल्ला गरी ३६ वटा सेवाकेन्द्रअन्तर्गत ४५ हजार शेयर सदस्य रहेको कर्णालीले ईकाईगत साधारणसभा गर्ने क्रममा लखनपुर र दमक सेवाकेन्द्रको साधारणसभा सम्पन्न गरेको सहकारीका अधिकृत मनोहरि निरौलाले जानकारी दिए । कर्णाली सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दमक क्याम्पस सञ्चालक समिति सदस्य ढुण्डीराज भण्डारी, उद्योग बाणिज्य संघ दमकका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईं, कर्णाली सहकारी दमक सेवाकेन्द्र संयोजक शेरबहादुर भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता प्रकाश पौडेल, सितादेवी दुलाल पाठक, कुमारी बस्नेत र प्रमिला राई, उत्कृष्ट ऋणीतर्फ बिमल शर्मा, बुद्धिचन्द्र ओली, कृष्णकुमार सापकोटा र दिलकुमारी राई, उत्कृष्ट कारोबारीमा सनमाया आङबोहाङ, डेन्जोङ शेर्पा र भुपेन्द्र घिमिरे, उद्यमी सदस्यमा उषा श्रेष्ठ, लक्ष्मीप्रसाद लिम्बु र टिकाकुमारी राईलाई सम्मान गरिएको कर्णाली सहकारीका प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले जानकारी दिए। त्यसैगरी शारीरिक रुपमा असक्त कल्पना राईलाई समेत सम्मान गरिएको थियो ।
शनिबारको ईकाई साधारणसभाबाट पुष २५ गते बिर्तामोडमा हुने साधारणसभाको लागि तीन जना प्रतिनिधि छनोट गरिएको सहकारीका सचिव भुपाल बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्