भद्रपुर, पुष २५। नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था झापाको संयुक्त अगुवाइमा भद्रपुर १० मा निर्माण भएको सहिद मनोज झपेन्द्र स्मृति राष्ट्रसेवक सामुदायिक भवनको आइतबार उद्घाटन गरिएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलालेख अनावरणसँगै रिवन काटेर भवनको उद्घाटन गरेका हुन् ।
वि.सं २०७० माघ ५ गते ओलीले नै उक्त भवनको शिलान्यास गरेका थिए । सोह्र कोठाको दुईतले भवन निर्माणमा रु एक करोड ८८ लाख नौ हजार ५७० खर्च भएको भवन निर्माण समितिका संयोजक एवम् संगठनका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईँले बताए ।
भवन निर्माणका लागि राष्ट्रसेवक सहकारी संस्थाबाट . ५० लाख, शान्ति मन्त्रालयबाट २८ लाख, तत्कालीन जिल्ला विकास समितिबाट तीन लाख ८२ हजार, सांसद विकास कोषबाट एक लाख ९६ हजार २५०, जिल्ला प्राविधिक कार्यालयबाट एक लाख ९० हजार, भद्रपुर नगरपालिकाबाट रु एक लाख ४६ हजार सहयोग प्राप्त भएको थियो ।

यसैगरी विभिन्न दाताबाट ४२ लाख ४१ हजार ६१३ संकलन भएको थियो । भवन निर्माणका लागि रु ५२ लाख ५० हजार राष्ट्रसेवक सहकारीबाट ऋण लिइएको थियो ।
भद्रपुर नगरपालिका– १० मा दुई कट्ठा १५ धुर जग्गामा बनेको भवनको भुईँ तलामा १४ कोठा र पहिलो तलामा दुई सभाकक्ष छन् ।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व प्रधानमन्त्री ओलीले कर्मचारीलाई जनताको काममा ढिलासुस्ती नगर्न आग्रह गरेका थिए ।
सेवाग्राहीको काम सहज र पारदर्शी ढंगले छिटोछरितो रुपमा गरिदिन आग्रह गर्दै उनले यो वा त्यो वहानामा सेवाग्राहीलाई नअल्मल्यान आग्रह गरे ।
एमाले अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनहरुमा कर्मचारीहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै भ्रष्टाचारजस्तो जघन्य अपराध नगर्न पनि कर्मचारीहरुलाई सुझाए ।
आफ्नो नेतृत्वको सरकारले देशमा विकासको लहर ल्याएको भन्दै ओलीले वर्तमान सरकारले विकास–निर्माणका काममा केही गर्न नसकेको दाबी गरे । आफू प्रधानमन्त्री हुँदा विकास निर्माणका सयौं योजनाहरुको शिलान्यास र उद्घाटन गरेको भन्दै ओलीले विकासको लहर देखेर अत्तालिएकाहरुले आफ्नो नेतृत्वको ‘जनादेश’को सरकार ढालेर ‘परमादेश’को सरकार बनाएको आरोप लगाए ।

समारोहमा भवन निर्माणका लागि सुरुमै १ लाख ११ हजार सहयोग गर्ने पूर्व कर्मचारी एवम् भद्रपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष विनोद पोखरेललाई सम्मान गरिएको थियो भने झापाबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई मायाको चिनो प्रदान गर्दै विदाइ गरिएको थियो । प्रमुख अतिथि ओलीले पोखरेललाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । भवन निर्माण समितिका संयोजक लक्ष्मीप्रसाद गुरागाईंको अध्यक्षतामा आयोजित समारोहको सञ्चालन राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले गरेका थिए भने संगठन झापाका अध्यक्ष केदार पोखरेलले स्वागतसहित भवन निर्माणसम्बन्धी विवरणहरु प्रस्तुत गरेका थिए ।

समारोहमा नेपाल निजामती कर्मचारी संगठनको ११ औं महाधिवेशन आयोजक कमिटीका संयोजक केदारप्रसाद देवकोटा र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका निवर्तमान अध्यक्ष पुण्यप्रसाद ढकालले शुभकामना मन्तव्य राखेको राष्ट्रसेवक साकोसका व्यवस्थापक अनुज खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्