झापा, पुष २५ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले १५ बर्ष निरन्तर कांग्रेसले सरकार चलाउन पाए बीपीले भनेजस्तै देशको मुहार फेरिने दावी गरेका छन् ।

अहिलेसम्म कुनै पनि प्रधानमन्त्री ५ बर्ष नटिकेको बताउँदै शर्माले चुनाव जित्नेमात्रै होइन, निरन्तर १५ बर्ष सरकार चलाउने वातावरण बनाउनुपर्नेमा जोड दिए । नेपाली कांग्रेस झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै महामन्त्री शर्माले अबको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने र कांग्रेसले प्रधानमन्त्री पाउने दावी गरे ।
आर्थिक रुपान्तरण, समाबेशी सहभागिता , सामाजिक रुपान्तरण र हिंसामुक्त समाज बनाउनुपर्ने दायित्व कांग्रेसको काँधमा आएको उनको भनाई थियो ।
चुनाबी प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै हिजो को कहाँ उभियो ? भन्ने कुरा छोडेर मन मिलाएर संगठनको हितमा संगसंगै हिड्न आग्रह गरे ।

प्रतिपक्षी दल के.पी. ओलीमा अत्यन्तै असहिष्णु प्रवृत्ति देखिएको उदाहरण पेश गर्दै नेता शर्माले स्वस्थ आलोचना गरेर पार्टीको रुपान्तरणमा लाग्नुपर्ने बताए । अबका पुस्ताले राजनीतिमा एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, ३ पटक मन्त्री र चारपटक मात्रै सांसद बन्न पाउने प्रक्रियालाई नीतिगत रुपमै अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए ।
शहीदको त्याग र बिद्रोहबाट मात्र यो पुस्ताले स्वतन्त्रता पाएको उल्लेख गर्दै उनले भने–‘झापा क्रान्ति र बिद्रोहको भूमि हो।’ नेपाली कांग्रेसको वर्तमान समितिमा अनुभवी र पाका नेतृत्व एवं युवापुस्ताको समान सहभागिता रहेको उल्लेख गर्दै इतिहास र बर्तमानको संयोजनले नै पार्टी बलियो हुने धारणा राखे ।

‘महामन्त्रीमा निर्वाचित भएसँगै पाँच बर्षीय परीक्षामा उभिएको छु’ महामन्त्री शर्माले भने–‘ डिग्री पढेको युवाले जागिर खान दलको ढोका ढकढक्याउनुपर्ने, प्रशासनिक समस्या एवं समग्र अब्यवस्थाको अन्त्य र पार्टीको रुपान्तरणका लागि सक्दो प्रयास गर्नेछु ।’ संगै हिड्दा लात्ती लागेपनि आफ्नो साथीको स्पर्श सम्झेर क्षमा गर्दै पार्टीको हितमा लाग्न सबैलाई आह्वान गरेका शर्माले निर्वाचनमा कोही पनि हतियारको बिडजस्तै कम्युनिष्टको बिड नबन्न्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले चुनावको परिणामले मन दुखेकाहरुलाई मल्हमपट्टी लगाएर गाउँ– नगर, वडाको नेतृत्व छान्न आह्वान गर्दै ९० दिनको कार्यतालिका बनाएर स्थानीय चुनाबको तयारीमा लाग्न निर्देशन दिए ।
गाउँनगर र वडाको परिणामले कांग्रेसको भबिष्य निर्धारण गर्ने बताउँदै उनले अबको तीन महिना स्थानीय चुनाबका लागि केन्द्रीत हुनसमेत आह्वान गरे ।

केन्द्रीय सदस्य सरिता प्रसाईले सबै क्षेत्र, प्रदेश, गाउँ–नगर र वडामा मेरो मान्छे होइन, जित्ने र जनमानसमा लोकप्रियता बोकेका ब्यक्तिलाई टिकट दिनुपर्नेमा जोड दिइन् । एमालेले संसद बन्धक बनाएर लोकतन्त्रमाथि नै प्रहार गरिरहेकोतर्फ सचेत गराउँदै नेतृ प्रसाईले बहस र छलफलमार्फत समस्या समाधान गरेर लोकतान्त्रिक पद्धतिको पालना गर्न सुझाव दिइन् ।
नेपाली कांग्रेस प्रदेश– १ का सभापति उद्धव थापाले सहिद, प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा, सर्बस्वहरणमा परेका ब्यक्ति तथा परिवार सम्मानका लागि योग्य भएको बताउँदै भने–‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा कसैको हार र जीत हुँदैन । बिजय उत्सब र सम्मानले पार्टीको हित गर्दैन । उपबिजयीहरुको पीडामा मल्हम लगाउन सकेमात्र पार्टीको हित हुन्छ, संगठन बलियो हुन्छ।’
नेपाली कांग्रेसका पूर्वं सभापति पूर्णानन्द शर्माले केन्द्र र प्रदेशमा निर्वाचित सबैको इतिहास प्रजातान्त्रिक आन्दोलनमा अग्रस्थानमा रहेको बताउँदै सबै एकजुट भएर पार्टी हितमा लाग्न आह्वान गरे । जग बलियो भए घर बलियो हुने बताउँदै एकजुट भएर पार्टीको जग बलियो बनाउन उनले सुझाव दिए ।

पूर्व सांसद एवं प्रजातान्त्रिक आन्दोलनका अग्रज नेता डिल्लीप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै नेता सिटौलाले जनताले कांग्रेसलाई कसरी हेर्छन् भन्ने अनुगमन गरेर जनता केन्द्रित कार्यक्रम लिएर गाउँगाउँमा जान कार्यकर्तालाई आह्वान गरे ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरु महेन्द्राकुमारी सुब्बा, सुशिला ढकाल, राष्ट्रियसभाका उम्मेद्वार गोपालकुमार बस्नेतलगायतले बोलेका थिए ।
झापा उपसभापति केशवकुमार पाण्डेले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत शेरबहादुर भट्टराई र सञ्चालन कृष्ण हुमागाईले गरेका थिए । सो क्रममा केन्द्रीय समितिमा निर्वाचित महामन्त्री शर्मा, केन्द्रीय सदस्यहरु बुढाथोकी, प्रसाई, सुब्बा र ढकाल, प्रदेश सभापति उद्धव थापासहित प्रदेश समितिका १३ जना सदस्यहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्