बिर्तामोड , माघ ३। कोरोना संक्रमणको तेस्रो लहर शुरुवात भएयता झापामा दोस्रो संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई ७ की लिम्बू समुदायकी ७५ वर्षिया बृद्धा रहेकी छन् । उनको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा आइतबार राति ८ बजे मृत्यु भएको हो ।
यसअघि गत पुष २८ गते झापामा एक पुरुष संक्रमितको मृत्यु भएको थियो । योसंगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५८ पुगेको छ । तीब्ररुपमा कोरोना संक्रमण फैलिदै गएको झापामा सोमबार एकैदिन १३६ जना संक्रमित भएका छन् । मेची र कोटीहोम ल्याबमा १५७ जनालाई परीक्षण गर्दा १०६ जनालाई संक्रमण पुष्टि भएको हो । त्यस्तै बाहिरको ल्याबबाट ४ र एन्टिजेन विधिबाट २६ जनालाई संक्रमण पुष्टि भएको छ ।
झापामा अहिले १८७ महिला र २३१ पुरुष गरी ४१८ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये ७ जना अस्पतालमा भर्नारत छन् भने अन्य होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।