आज २१ औं सदिका नारी आफू स्वयम् आत्मनिर्भर हुँदैछन् । समाजमा आफ्नो परिवार ,आफ्ना बालबालिका सबैको जिम्मेवारी लिएर नारी अगाडि बढ्दैछन् । जुन हिसावले नारीहरु प्रगतिको पथमा छन् , त्यही हिसाबले उन्नति गर्दै गए भने त्यो दिन टाढा छैन पुरुषको भन्दा ज्यादा प्रगति गर्न सक्छन् । र, समस्त समाजमा नारीकै हैकम चल्छ ।तर, विडम्वना नारी एकताको शक्तिबिना समाज परिवर्तन गर्न सकिदैन ।नारीको शक्तिलाई नारीले नै बुझ्नु पर्दछ । नारीको समान नारीले नै गर्नु पर्दछ । नारीको मर्म नारीले नै बुझ्नु पर्दछ । भाषण अनि नारामा मात्रै बोलेर नारीलाई अगाडि बढाउनु पर्छ भन्ने होइन । स्वयं नारी अगाडि आउनु पर्छ । अनि आफ्नो जिम्मेवारी सम्मानित भएर निडर भएर निर्वाह गर्नुपर्दछ ।

समाजमा एउटी प्रतिष्ठित नारी , उच्च ओहोदामा पुगेकी नारी , आत्मनिर्भर भएकी नारीलाई देखेर अन्य नारीहरु प्रेरित हुनु पर्छ । प्रेरणाको पात्र बनाउनु पर्छ । उसको सम्मान गर्नु पर्छ । उसको खुट्टा तान्ने काम कहिल्यै गर्नु हुँदैन । उसले पनि आफ्नो अहम्ताको भावना बोक्नु हुँदैन । समाज परिवर्तनका निम्ति आफ्नो योगदान दिनु पर्छ । समाजका सम्पूर्ण नारीहरुलाई विकास र सफलताको बाटो देखाउनु पर्छ । समाजको कुरीतिसंग लड्नु पर्छ । आज महिलाहरु घरदेखि चन्द्रमासम्म पुग्न सफल भएपनि कुरीतिलाई सुधार्न सकेका छैनन् । नारीले आफ्नो हक अधिकार , आफ्नो कानून , आफ्नो रीतिरिवाज, आफ्नो स्वतन्त्रता , आफ्नो सम्मान,आफ्नो सुरक्षा, आफ्नो सुविधाको लागि आफै कलम चलाउनु पर्छ। आफ्नो सम्मान आफै खोज्नु पर्छ । आज महिला संसारको सबै क्षेत्रमा अगाडि भएर काम गरिरहेका छन् ।तर पनि शिक्षित छैनन् किन ? असुरक्षित छन् किन ? दवावमा छन् किन ? लुटिरहेका छन् किन ? शोषित भइरहेका छन् किन ? खेती किसानदेखि लिएर डाक्टर , इन्जिनियर ,पाइलट ,विद्यार्थी ,वैज्ञानिक ,कलाकार , राजनीतिकर्मी सबै क्षेत्रमा आफ्नो काम पुरुषसंग बराबरी गरिरहेका छन् ।तर पनि, नारीको सुरक्षा दरिलो छैन ।त्यसको कारण हो नारी स्वयं । किनभने नारीले नारीको सम्मान गर्दैनन् । सहयोग गर्दैनन् ।

‘जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन् ’यो भनाइको सारतत्व मात्रै जीवनमा बुझ्न सक्ने हो भने नारीबारे सबै कुरा स्पष्ट हुन्छ। नारी भनेकी सृष्टि, जननी र धर्ती हुन् । जसरी धर्तीले सबै थिचोमिचो आफूले सहेर सबै प्राणीलाई आश्रय दिइरहेकी छन्। त्यसैगरी सबै पीडा आफूले सहेर परिवार, आफन्तको खुसीका लागि नक्कली हाँसो हाँस्न पनि पछि नपर्ने हुन् –नारी। यिनै नारीको सम्मानमा अन्तर्राष्ट्रिय रूपमा नारी दिवस मनाइन्छ । दिवस कुनै कुराको महत्व दर्शाउनका लागि मनाइन्छ। नारी जाति महान् छन्, उनीहरूको पनि बेग्लै अस्तित्व छ, नारीलाई सम्मानको नजरबाट हेरौं भन्ने मनसायले यो दिवस विश्वव्यापी रूपमा मनाइन्छ । नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइन्छ । दिवस मनाउनु र दिवसको महत्व महसुस गर्नु अलग कुरा हो । कागजी रूपमा होइन व्यावहारिक रूपमा दिवस र उत्सव मनाऔं ।
हरेक सुखमा नारी
हरेक दुःखमा नारी
नारीको सम्मान र सुरक्षा
हामी सबैको पहिलो जिम्मेवारी

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्