झापा, बैशाख ५ । झापाको हल्दीबारीमा २ महिनादेखि साङ्लोले बाँधेर राखिएका एक युवकको उद्धार भएको छ।

आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरको बरन्डामा बाँधेर राखिएका हल्दीबारी गाउँपालिका–५ का चन्द्रप्रसाद ढकालका २३ वर्षीय छोरा गंगाप्रसादको बिर्तामोडस्थित बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँसहित चिकित्सकको टोलीले सोमबार दिउँसो उद्धार गरेको हो। मानसिक सन्तुलन बिग्रिएका गंगाप्रसादलाई अस्पतालमै राखेर उपचार गराउनुका साथै सम्पूर्ण उपचार खर्च बिएण्डसी अस्पतालले बेहोर्ने कार्यकारी निर्देशक प्रसाईँले बताए।

गत पुषमा गंगाप्रसादको मानसिक सन्तुलन बिग्रिएको थियो। मानसिक सन्तुलन बिग्रिएका गंगाप्रसादले गाउँघर, छरछिमेकलाई दुःख दिन थालेपछि उनका बुबा चन्द्रप्रसाद छोरालाई साङ्लोले बाँधेर राख्न बाध्य भएका थिए। उनको घर हल्दीबारी गाउँपालिकाको नयाँ कार्यालय भवन बन्दै गरेको ठिक अगाडि छ।

‘श्रीमती पनि नभएको अवस्थामा एक्लो छोरालाई बाँधेर काममा जानुपर्ने अवस्था थियो, त्यत्तिकै छाडेर जाँदा छोराले गाउँघरमा उत्पात मच्चाउँदै आएको गुनासो छिमेकीहरूले सुनाउँथे,’ उनका बुबा चन्द्रप्रसादले भने, ‘छोरालाई अस्पताल लगेर उपचार गराउने खर्च पनि थिएन, त्यसैले घरमै बाँधेर राखेका थियौँ।’

अस्पतालले छोराको उद्धार गरिदिएकाले अब छोराले पक्कै पनि नयाँ जीवन पाउने भन्दै उनले खुशी व्यक्त गरेका छन्। चन्द्रप्रसादको घर हल्दीबारी गाउँपालिकाले बनाइदिएको हो। त्यही घरमा उनी छोरासँगै बस्दै आएका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्