झापा , जेठ १६ । अमेरिकामा छायांकन भइरहेको ‘मेरो भ्वाइस कप युएसए’मा झापाली युवा प्रेम आङ्देम्बेले उत्कृष्ट प्रस्तुति दिइरहेका छन् ।

झापाको शिवसताक्षी–६, हवल्दार चौक घर भएका प्रेम अमेरिकाको दोस्रो संस्करणको गायन रियालिटी शो भ्वाइस कपमा छनौट भएका हुन् ।

अडिसन राउण्डमा कर्ण दासको गीत ‘त्यो प्रेमको बलिदान म कसरी भुल्न सक्छु…’ गाएर निर्णायकहरुको मन जितेका थिए । दोस्रो राउण्डको ‘ब्लाइन्ड अडिसन’ पार गर्ने क्रममा उनले जगदीश समालको गीत ‘अलि अलि भन्दाभन्दै धेरै पिउने भइसकेछु…’ गाए । हालै तेस्रो राउण्ड समेत पार गर्दै उनले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । शनिबारको श्रृंखलामा उनले चलचित्र कबड्डी–४ को गीत ‘आँखामा सपना कसरी…’ प्रस्तुत गरे ।

कार्यक्रमका निर्णायकहरुले प्रेमको स्वर सशक्त रहेको र उनी धेरै अगाडि बढ्न सक्ने बताएका छन् । अब आउने राउण्ड पनि पार गर्न सकेमा प्रेम उत्कृष्ट १२ मा छनौट हुनेछन् । यो कार्यक्रमको उत्कृष्ट १२ मा छनोट हुनेहरुलाई आयोजकले अमेरिकाबाट नेपाल ल्याउने भएको छ । उत्कृष्ट १२ जना प्रतिष्पर्धीलाई ल्याएर नेपालमै कार्यक्रम छायांकन गरिनेछ । त्यसबाट ८ जनालाई बिदा गर्दै उत्कृष्ट ४ जनालाई मात्र अमेरिका लगिने बताइएको छ । प्रतियोगिताको ग्रान्ड फिनाले भने अमेरिकामा नै हुनेछ । टप–१२ मा परेर नेपालसम्मको यात्रा गर्न सफल हुनेमा आफू ढुक्क रहेको प्रेमले बताए ।

बाल्यकालदेखि नै सांगीतिक क्षेत्रमा सक्रिय रहेका प्रेम केही वर्षयता श्रीमती सीता थुलुङसँग अमेरिकामा बस्दै आएका छन् । खासगरी उनी राष्ट्रभक्तिका भावनाले भरिएका शब्द गाउन रुचाउँछन् । नेपालमा छँदा प्रेमले तीन वर्षअघि ‘चाउचाउ’ बोलको गीत सार्वजनिक गरेका थिए । गीतको म्युजिक भिडियोमा प्रेमसँग नायिका केकी अधिकारीले अभिनय गरेकी थिइन् ।
‘मेरो भ्वाइस कप युएसए’ सञ्चालन गर्न नेपालबाट अमेरिका पुगेकी रिमा विश्वकर्माले प्रेमलाई कार्यक्रममै सोधेकी थिइन्, ‘तपाईंलाई त पहिले पनि मैले यस्तै एउटा मञ्चमा भेटेकी थिएँ, तपाई अझै पनि गीत नै गाउँदै हुनुहुन्छ ?’ प्रेमले हाँस्दै जवाफ दिएका थिए, ‘चलिरहेकै छ ।’ कार्यक्रमका निर्णायकमध्येका एक जगदीश समालले गायनमा प्रेमको धेरै सम्भावना रहेको बताएका थिए ।

प्रतियोगिताको विजेताले ¥याभफोर कार, दोस्रोले गोल्डेन कप र तेस्रोले सिल्भर कपसँगै नगद तथा उपहार पाउने आयोजक संस्था इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाका सचिव गोपाल धितालले जानकारी दिए । नेपालबाहिर बस्ने नेपालीलाई नेपाली कला, संस्कृतिसँग जोडिराख्न यो रियालिटी शोले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्