झापा, असार ३ । संगीता राईको चार विकेटतथा विकेटकिपर काजल श्रेष्ठको उत्कृष्ट ब्याटिङ प्रेरित नेपालले शुक्रबार एसीसी महिला ट्वान्टी-२० च्याम्पियनसिपमा भुटानलाई ५० रनले पराजित गरेको छ ।

योसँगै नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मलेसियाको बांगीस्थित यूएसडी-यूकेएम ओभलमा कप्तान रुबिना क्षेत्रीले टस जितेर ब्याटिङ गर्ने निणर्य लिएकी थिइन् । त्यसपछि , ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएकी थिइन् । ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७.५ ओभरमा ४४ रन बनाउँदा सबै विकेट गुमाएको थियो । पहिले ब्याटिङ गरेको नेपालका लागि विकेटकिपर काजल श्रेष्ठले सबैभन्दा धेरै २६ रन बनाए । कप्तान रुबिना क्षेत्रीले २१ रन बनाउँदा इन्दु बर्माले २० रन बनाइन् । काजलले दुई ठूला महत्वपूणर् साझेदारी पनि गरिन् । काजलले इन्दुसँग चौथो विकेटका लागि ३२ रनको साझेदारी गरिन् । त्यसपछि काजल र कप्तान रुविनासँग पनि पाँचौं विकेटका लागि पनि समान ३२ रनको साझेदारी गरिन् । नेपालका डली भट्टले ५, सीता रानामगरले ४, ममता चौधरीले ३ र बिन्दु रावलले एक रन बनाए । कविता कुँवर पनि एक रनमा अविजित रहिन् । ज्योति पाण्डे र अस्मिना कर्माचार्यले रनको खाता खोल्न सकेनन् ।भुटानकी सोनाम पाल्देनले ४ ओभरमा एक मेडनसहित १३ रन दिएर ४ विकेट लिइन् । अञ्जु गुरुङ र टासी चेकीले एक-एक विकेट लिएका थिए । नेपालकी संगीताले २.५ ओभरमा ६ रन दिएर ४ विकेट लिएपछि भुटानका खेलाडीले खुलेर खेल्न सकेनन् । भुटानका लागि छिरिङ ज्याङ्मोले सबैभन्दा धेरै १६ रन बनाइन् । नवाङ चोदेनले ८, सोनाम चोदेनले ५ र पेमा सेल्देनले ४ रन बनाइन् । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । संगीताबाहेक नेपालका कविता कुँवर र सीताले समान दुई विकेट लिए । अस्मिना कर्माचार्य र इन्दु बर्माको नाममा एक-एक विकेट रह्यो ।