झापा , असार ७ । बुधवारे हटियाका व्यापारीहरुलाई विद्युत महसुलको मिटर दिनुपर्ने मागलाई राजनीतिकरण गर्ने प्रयास गरिएपछि बिर्तामोड नगरपालिकामा तनाव भएको छ ।

व्यापारीहरुलाई विद्युत महसुलको मिटर दिनुपर्ने मागसहित प्रतिपक्षी नेपाली कांग्रेसले आन्दोलन गरिरहँदा सत्तापक्ष नेकपा एमालेले ठाडै अस्वीकार गरेपछि विवाद उत्कर्षमा पुगेको हो । व्यापारीहरुलाई मिटर दिनुपर्ने मागसहितको आन्दोलनको अगुवाई कांग्रेस पार्टीमा आवद्ध बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी , वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेलगायतले गर्दै आएका छन् । उनीहरूको माग सम्बोधन गर्न सोमबार नगरपालिकाले सर्वदलीय बैठक बोलाएको थियो । बैठकमा नगर प्रमुख पवित्रा महतारा प्रसाईले बोल्न थालेपछि वरिष्ठ उपाध्यक्ष न्यौपानेले आफ्नो ठाउँबाट उठेर अवरोध गर्न खोजेका थिए । त्यतिकैमा बैठकमा सहभागी एमाले अध्यक्ष सुवास भट्टराईले नगर प्रमुखको पक्ष लिँदा विवाद भएको हो ।

विवादका क्रममा भट्टराईमाथि हातपात भएको आरोप एमालेको छ । बुधबारे हटियामा बर्षौदेखि बसेका व्यापारीलाई बिजुलीको मिटर दिने वा त्यस ठाउँबाट हटाउने भन्ने विषयमा सर्वदलीय र सर्वपक्षीय वृहत छलफल गरी सहमति निकाल्नुुपर्नेमा एमाले र कांग्रेसले यसलाई राजनीतिकरण गर्दा विवाद बढेको हो । यस विवादमा राष्ट्रिय प्रजातन्त्र पार्टी मौन देखिएको छ । व्यापारीहरुलाई विद्युत महसुलको मिटर दिनुपर्ने विषयमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरु विभाजित भएका छन् । त्योसंगै बिर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारीहरु पनि विभाजित देखिएका छन् । वाणिज्य संघका अध्यक्ष शिवाकोटी , वरिष्ठ उपाध्यक्ष न्यौपानेलगायतको बहुमत टीम व्यापारीको पक्षमा छन् भने महासचिव अर्जुन मैनाली विपक्षमा छन् । नगर प्रमुख प्रसाईले जनप्रतिनिधिको भूमिका निर्वाह गर्न नसकेको व्यापारीहरुले गुनासो गरेका छन् । विवादलाई साम्य बनाउने प्रयास गर्नुभन्दा पनि एमाले र कांग्रेसका कार्यकर्ता र समर्थक संचारकर्मीहरुले उछाल्ने काम गरिरहेको पाइएको छ ।

सर्वदलीय बैठकमा आफूहरुमाथि दुव्र्यवहार भएको नगर प्रमुख प्रसाई र एमाले अध्यक्ष भट्टराईले बताएका छन् । तर , इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले न्यौपानेले नगर प्रमुखलाई धम्कीपूर्ण भाषा प्रयोग गरेपनि हातपात नगरेको बताए । आफूहरुले माहौललाई शान्त पार्ने प्रयास गरेको उनले जानकारी दिए । आक्रोशित वाणिज्य संघका अगुवा र व्यापारीहरुले नगरपालिका कार्यालयमा तोडफोड गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्जपछि उनीहरुले नगरपालिकाको गेटअगाडि धर्ना दिएका थिए ।

आइतबारदेखि प्रदर्शन र धर्ना गर्दै आएका व्यापारीहरुले मंगलबार पनि नगरपालिकामा विरोध कार्यक्रम गर्ने जनाएका छन् । व्यापारीहरुको मागलाई राजनीतिकरण गरिएपछि विवाद अझ बढ्ने देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्