झापा , असार ९ । कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसंगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रंगशालामा पहिलो रग्बी १५ को आधिकारिक खेल खेलेको छ ।

प्रतिद्धन्दी बंगलादेशको पनि यो पहिलो आधिकारिक रग्बी खेल्न लागेकोले दुबै टोली उक्त उपलब्धिका लागि निकै खुशी देखिएको थियो । बंगबन्धु बंगलादेश-नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज- २०२२ को रग्बी १५ प्रतिस्पर्धामा जित भने बंगलादेशको पोल्टामा पर्यो । बंगलादेशले नेपाललाई ३१-७ स्कोरले पराजित गर्यो । खेलपछि नेपाली प्रशिक्षक टंकराज गिरीले भने – ‘यो ऐतिहासिक उपलब्धिको साक्षी हुन पाउँदा मलाई गर्व लागेको छ । अब नेपालको रग्बीमा अगाडी बढ्ने ढोका खुल्यो ।’ नेपालले ७ जना खेलाडीहरुले खेल्ने रग्बी सेभेन मात्र खेल्दै आएको छ । विश्व रग्वी महासंघको मुख्य प्रतियोगिता १५ जना खेलाडीहरुले खेल्ने रग्बी १५ हो । त्यसमा भाग लिएपछि मात्र नेपालले विश्व रग्बी महासंघको पूणर् सदस्य बन्न पाउँछ । कप्तान क्षेत्रीले पहिलो आधिकारिक प्रतियोगिता खेलेपछि खुशी हुँदै भने- ‘रग्बी सेभन खेलेको दशक बढी भइसक्यो । तर आज आएर बल्ल १५ आफ्नै कप्तानीमा खेल्न पाए । ज्यादै खुशी छु । अब हाम्रो लक्ष्य रग्बीको डिभिजन ३ खेल्ने हुने छ ।’ नेपाल अहिलेसम्म डिभिजन विहीन । रग्बी १५ खेलेपछि अब त्यो वाटो खुल्नेछ । बुधवार भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफमा बंगलादेशले जम्मा एक ट्राई (५ अंक) मात्र गर्न सक्यो । तर घरेलु मैदानको फाइदा उठाउँदै बंगलादेशले दोस्रो हाफमा २६ स्कोर थप्यो र नेपाललाई दबावमा राख्यो । यद्यपि खेलको अन्तिम समयमा भने नेपालले खेल पूणर् रुपमा नियन्त्रणमा राख्यो र एक ट्राई (५ अंक) हान्न सफल भयो । विराट श्रेष्ठले उक्त स्कोर गरेका हुन् । यो संगै उनी नेपालको तर्फबाट रग्बी १५ मा स्कोर गर्ने पहिलो खेलाडी बने । ट्राई गरेपछि सीधा पोष्टमा कन्भर्सन (गोलपोष्टमा सीधा हान्ने) को अवसर पाउँछ । श्रीराम श्रेष्ठले उक्त कन्भर्सन मा स्कोर (२ अंक) गरेपछि नेपालको स्कोर ७ पुग्यो । खेलपछि नेपाली र बंगलादेशी खेलाडीहरुले संयुक्त रुपमा खुशीयाली मनाए ।

विराटको कीर्तिमान
३१ वर्षीय विराट टोलीका उपकप्तान हुन् । मैदान प्रवेश गर्नु अगाडि उनले भनेका थिए- ‘रग्बी खेलिकन अझैसम्म एक ट्राई हानेको छैन । आज हान्ने हो ।’ भने जस्तै उनले आज उत्कृष्ट स्कोर गरे । खेलको ७५ औं मिनेटमा टोलीका अग्ला खेलाडी श्रीरामले मिलाइदिएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै उनी बल लिएर स्कोर लाइनमा डाइभ हानेका थिए । विराटले भने- ‘यो मेरो करिअरको पहिलो स्कोर हो, त्यो पनि रग्बी १५ मा गर्न पाँउदा हर्षित छु । स्कोर गरेपछि म साँच्चै नै रोएको थिएँ ।’ बाग्लुङमा जन्मिएका विराट नेपाली रग्बी टोलीका पुराना सदस्य मध्येका एक हुन् । नेपाली रग्बीको विकासमा उनलाई एक महत्वपूणर् सदस्य मानिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्