झापा , असार ९ । मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपियाँभन्दा बढीको मोबाइल आयात भइरहेकामा पछिल्ला दुई महिनामा भने यसको आयात घटेको हो ।

भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपियाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपियाँको मोबाइल आयात भएको थियो । सरकारले वैशाख दोस्रो साता छ सय डलरभन्दा बढी मूल्यका मोबाइल सेट असारसम्म आयात गर्न रोक लगाएपछि त्यसको असर देखिन थालेको हो । विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले उक्त मूल्य माथिका मोबाइलसहित अन्य नौवटा वस्तुको आयातमा रोक लगाउने निणर्य गरेको थियो । सो निणर्यपछि नेपालमा सबैभन्दा धेरै आयात हुने पाँचवटा वस्तुमध्ये पर्ने मोबाइलको आयात घटेको विभागको तथ्याङ्कले देखाउँछ । सरकारले वैशाखमा उक्त निणर्य गर्नुपूर्व चैतमा मात्रै तीन अर्ब ९८ करोड रुपियाँको मोबाइल आयात भएको थियो । नेपालमा सबैभन्दा धेरै मोबाइल चीनबाट आयात हुन्छ । जेठसम्म चीनबाट २२ अर्ब ७७ करोड रुपियाँको मोबाइल आयात भएको छ । त्यसपछि भारतबाट १२ अर्ब ८८ करोड रुपियाँको मोबाइल आयात भएको तथ्याङ्क छ । यसबाहेक नेपालले भियतनाम, संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, बङ्गलादेश, जापान, अस्टेलिया, कतार, हङकङलगायतका मुलुकबाट मोबाइल आयात गर्छ । तथ्याङ्कअनुसार जेठसम्म ५५ लाख ८६ हजार ५७८ थान मोबाइल आयात भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्