झापा , असार १० । देशमा दिगो विकास हासिल गर्नका लागि रोजगारीको अवसर सिर्जना गरेर समतामूलक तथा समावेशी आर्थिक विकास गर्ने लक्ष्यका साथ विभिन्न तालिम प्रदायक कम्पनीले तेह्रथुमका युवालाई सिपमूलक तालिम प्रदान गरेका छन् ।
आर्थिक रूपले कमजोर, विपन्न महिला तथा पुरुषलाई सिप विकास तालिम प्रदानगरी स्वरोजगार बनाउने उद्देश्यले ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) र हेल्भेटासले सञ्चालन गरेको तालिममा करिब तीन सय युवा दक्ष बनेका छन् । श्रम बजारको मागबमोजिमका व्यावसायिक सिपमूलक तालिम र औद्योगिक प्रशिक्षार्थी तालिमका माध्यमबाट दक्ष जनशक्ति उत्पादन गरी स्थानीयस्तरमा सिपमा आधारित लघु, साना तथा मझौला उद्यम विकासमार्फत् युवाका लागि रोजगार सिर्जना गर्ने उद्देश्यका साथ आयोजित तालिममा सहभागी बनेपछि आत्मनिर्भर बन्न सकिने फर्निचरसम्बन्धी सिप सिकेकी देवीमाया फुदोङले बताइन । उनले भनिन् , “मैले फर्निचरसम्बन्धी सिप सिकेकोले आफैँ उद्योग खोल्ने सोचमा छु ।” नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबीच सन् २०१५ को डिसेम्बरमा सम्झौता भई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) कार्यान्वयनमा आएसँगै युवाले सिपमूलक तालिम लिन पाएका हुन् । यस आयोजनाअन्र्तगत तेह्रथुममा मात्रै पाँचवटा तालिम प्रदायक संस्थाले विभिन्न सिपमूलक तालिम दिएका छन् ।
जिल्लामा कान्तिपुर बहुप्राविधिक शिक्षालय, ब्रिलियन मेनपावर, जेनियस टेक्निकल ईन्स्टीच्युट, एसोसिएट नेपाल सिनर्जी र देउराली जनता प्राविधिक शिक्षालयले समृद्धि एवं हेल्भेटासको समन्वयमा तालिम प्रदान गरेका हुन् । यी संस्थाले मेसन, कारपेन्टर, ब्युटिसियन, सिलाइकटाइ, कुक, वेटर, प्लम्बिङलगायतका सिप सिकाएका छन । तालिममा ६० जना पुरुष र ४० जना महिलाले सिप सिकेको प्रशिक्षक दिपेन प्रधानले बताए । कृषि तथा गैरकृषि क्षेत्रमा आय आर्जनसम्बन्धी क्रियाकलाप गर्न, लघु, घरेलु तथा साना उद्यम प्रवद्र्धन गर्ने तथा ग्रामीण गरिब घरपरिवार, आप्रवासी घरपरिवार र आप्रवासनबाट फिर्ता भएकाहरूका लागि दिगो आयआर्जनको स्रोत तयार गर्न यो तालिमले महत्वपूणर् भूमिका निर्वाह गर्ने छ । तालिम पाएका युवा उद्यम प्रवद्र्धन, साना किसान तथा उत्पादकका लागि रोजगारीका अवसर सिर्जना, कृषि तथा गैरकृषि क्षेत्रमा ग्रामीण स्तरका आयआर्जनसम्बन्धी क्रियाकलापमा सहभागी बन्न सहयोग पुगेको हेल्भेटास नेपालका प्रदेश १ संयोजक सुकबहादुर चौधरीले बताए । आयोजनाले प्रदेश १ अन्तर्गतका ८ जिल्लाहरू-तेह्रथुम, धनकुटा, भोजपुर, ओखलढुङ्गा, खोटाङ, उदयपुर, मोरङ, सुनसरी, मधेश प्रदेशअन्तर्गत सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा तथा बागमती प्रदेशको एकमात्र जिल्ला सिन्धुली गरी कुल १६ जिल्लाका २०८ पालिकामा सिपमूलक तालिम सञ्चालन गरिरहेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घअन्र्तगत रहेको कृषि उद्यम केन्द्र र हेल्भेटास नेपाल आयोजनाका प्रमुख साझेदार तथा सरोकारवाला निकाय हुन् ।