झापा ,साउन १६ । स्वास्थ्यका कारण सरकारले प्रतिबन्ध लगाएपनि झापामा मुंग्री माछाको उत्पादन र विक्री वितरण रोकिएको छैन ।

थाइ हाइब्रिड मुंग्री माछाले स्वास्थ्यलाई असर गर्ने भन्दै सरकारले प्रतिबन्ध लगाएको हो । बिज्ञहरूका अनुसार यस प्रजातिका माछा अत्यधिक मांसाहारी हुने र यसले पोखरीमा भएको अन्य सबै प्रजातिका माछाहरू खाने गर्दछ । माछापालक र व्यापारीहरुले तिनलाई छिटो हुर्काउन सिनो र बोसो दिने गरेका छन् । नेपालमा पालिने मुंग्री माछा हुर्काउन फर्मालिनयुक्त माछाको आन्द्राभुँडी, भैंसीको मासुको अखाद्य अंश, सिनो आदि प्रयोग गरिन्छ । जल प्रदुषण हुनुका साथै माछामा अत्यधिक मात्रामा हेभि मेटल समेत पाइने गर्दछ । जसका कारण क्यान्सर, अर्थराटिस, मधुमेहलगायतका घातक रोगहरू निम्तिने गरेको बताइन्छ ।

मांसाहारी भएकाले माछा मासु खुवाउनुपर्ने र रैथाने प्रजातिका माछाहरुलाई खाने हुँदा मुंग्री माछालाई सरकारले प्रतिबन्ध लगाएपनि क्यान्सर लाग्ने कुरा प्रमाणित भइनसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख डा. विनय श्रेष्ठले बताए । उनले रोग लाग्ने कुरा अनुसन्धानबाट पुष्टि भएपछि मात्र भन्न सकिने भनाई राखे ।

झापाका केही मत्स्यपालकहरुले अझै मुंग्री माछा पालिरहेका छन् । विगतभन्दा घटेपनि जिल्लाका केही मत्स्यपालकले फाट्टफुट्ट रुपमा प्रतिबन्धित मुंग्री माछा पालिरहेको कार्यालय प्रमुख डा. श्रेष्ठले बताए ।

त्यस्तै जिल्लाका बजारहरुमा मुंग्री माछाको बिक्री खुलेआम भइरहेको पाइएको छ । सरकारले प्रतिबन्ध लगाएपनि व्यवहारिक रुपमा मुंग्री माछाको उत्पादन र बिक्री वितरण भइरहेको उनको भनाई छ । भारतबाट भने मुंग्री माछाको आयात पूर्णरुपमा प्रतिबन्ध लगाइएको उनले जानकारी दिए । माछालाई मांसाहारी व्यक्तिका लागि राम्रो खानाको रूपमा लिइन्छ ।

खाद्यविज्ञहरुका अनुसार माछाको शरीरमा प्रोटिनको मात्रा बढी हुन्छ । माछाको प्रयोग विभिन्न रोगका लागि लाभदायक भएको मानिन्छ । तर बजारमा पाइने सबै प्रजातिका माछा स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक हँुदैनन् । थाइ हाइब्रिड मुंग्री माछाले स्वास्थ्यलाई असर गर्ने भन्दै शुरुमा भारतको महाराष्ट्र सरकारले प्रतिबन्ध लगाएको थियो ।
यो प्रजातिको माछाको कारण मानव स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने बिषयमा नेपालले समेत अध्ययन गर्न आवश्यक रहेको श्रेष्ठले बताए ।

१ प्रतिक्रिया

  1. नेपाल सरकारले कहिलेदेखि प्रतिवन्ध लगाएको हो थाहा पाउन सकिने कुनै आधार भए आभारी हुने थिएँ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्