झापा , भदौ २४ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले उत्कृष्ट अंक ल्याएर एसईई उत्तीणर् गर्ने एकजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

गाउँपालिकाभित्रका सामुदायिक विद्यालय मध्येबाट एसइईमा उत्कृष्ट अंकसहित उत्तीणर् हुने एकजना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले एसइईका उत्कृष्ट एकजना विद्यार्थीलाई विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने जानकारी दिएका हुन् । गाउँपालिकामा डाक्टर र इन्जिनियर उत्पादन गर्ने लक्ष्यका साथ विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति उपलव्ध गराउने घोषणा गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकाले अभिभावकसँगको समन्वयमा विद्यालय छनौट गरेर उत्कृष्ट विद्यार्थीलाई गाँस, वास र कपासको व्यवस्थासहित छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको जनाएको छ । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एकवटा आवासीय विद्यालय सञ्चालनका लागि अध्ययन गर्न कार्यदल बनाउने घोषणा गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा सञ्चालित शुभम् फाउण्डेशनको मोडलमा आवासीय विद्यालय सञ्चालनका लागि कार्यदल बनाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । शुभम् फाउण्डेसनले विद्यार्थीलाई ‘गरि खान सिकाउने’ व्यवहारिक शिक्षाको अभ्यास गराउँदै आएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ‘ दिप्रुङ चुईचुम्माको आव्हान, गुणस्तरीय शिक्षाको अभियान’ भन्ने नारासहित अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । हाजिरी जवाफ, निबन्ध लेखन, चकलेट दौड लगायतका प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्दै शुक्रबार दिवस समापन गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्