झापा, असोज १ । झापामा भारतबाट आयात हुने अस्वस्थकर मरेका माछाको विक्री वितरणमा रोक लगाइने भएको छ ।

बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको सरोकारवालाहरुको भेलाले उक्त निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र माईपूर्वका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरुको भेलाले अनुगमनका क्रममा बिर्तामोडलगायतका बजारमा अस्वस्थ्कर मरेका माछा विक्री वितरण भईरहेको पाइएकाले आ–आफ्नो पालिकामा रोक लगाउने निर्णय गरेको हो ।
भेलाले आ–आफ्नो पालिकामा माछा, मासु, तरकारी तथा खाद्यान्न बिक्री वितरणको नियमित अनुगमन गर्न कृषि वा पशु सेवा शाखाको अगुवाईमा बजार अनुगमन गर्ने संयन्त्र र कार्यप्रणाली बनाई कार्यान्वयन गर्ने, आ–आफ्नो पालिकमा खाद्यान्नको गुणस्तर, स्वच्छता, अखाद्य बस्तुको मिसावट, नक्कली उत्पादन जस्ता विषयमा सघनरुपमा बजारको अनुगमन गर्ने र सर्वसाधारणलाई यस विषयमा सचेत गराउन कार्ययोजना बनाएर लागू गर्ने पनि निर्णय गरेको छ ।

यस्तै पालिकाहरुले कृषि उत्पादनको प्रेष्टीसाइज्ड मापनको लागि पालिकाहरुले आपसी सहकार्यमा विषादी परीक्षणको लागि ल्यावको व्यवस्थापन गरि परीक्षण गर्ने व्यवस्था मिलाउने, कृषिजन्य उत्पादनमा विषादी न्यूनीकरण गर्न सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालय समेतको समन्वयात्मक भूमिकालाई अगाडि बढाउने पनि जनाइएको छ ।भेलाले गरेका निर्णयहरुलाई सबै स्थानीय तहले कार्यपालिका बैठकमा अनुमोदन गरि कार्यान्वयनमा लैजानेछन् ।

भेलामा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाई, जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्का,कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रप्रसाद पोख्रेल,कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, बुद्वशान्ति गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडा, झापा गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलिया, जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका भरतबहादुर पुरी, कृषि ज्ञान केन्द्रका गणेश शिवाकोटीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्