बिर्तामोड,असोज २ । स्थापना भएको १२ वर्षपछि बिर्तामोडमा इन्जिनियरिङ कलेज संचालन हुँदैछ ।

१२ वर्षअघि अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा स्थापना भएको पाथीभरा सेन्टर फर एड्भान्स स्टडीज(पीसीएएस) ले बल्ल सम्बन्धन पाएर कक्षा संचालन गर्न लागेको हो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएर सो कलेजले यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ संचालन गर्ने भएको हो । ती तीनवटा फ्याकल्टीमा ४८–४८ जनाको कोटा रहेको छ ।

१२ वर्षपछि बल्ल आफूहरुले इन्जिनियरिङ कलेज संचालन गर्न लागेको संचालक युवराज प्रसाईले बताए ।‘ १२ वर्षपछि खोला पनि फर्किन्छ भन्छन्’उनले भने,‘ हाम्रो कलेज पनि त्यस्तै भयो १२ वर्षपछि बल्ल सम्बन्धन पायौं ।’

कलेज संचालनका लागि आबश्यक सबै भौतिक पूर्वाधार तयार गरिसकेका थिए । बसपार्कदेखि उत्तरपट्टि सवा विगाह जग्गामा सो कलेज निर्माण गरिएको छ । समयमै संचालन गर्न नसक्दा आफूहरुले निकै क्षति ब्यहोर्नुपरेको प्रसाईले जानकारी दिए ।सुविधासम्पन्न कक्षाकोठा , आवश्यक ल्याबसुविधा , दक्ष प्राध्यापकहरुबाट गुणस्तरीय अध्यापनजस्ता सेवा सुविधा रहने आफूहरुको कलेजमा अरु इन्जिनियरिङ कलेजसरह नै शुल्क लिइने प्रसाईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्