बिर्तामोड , असोज २ । बिर्तामोड ३ सैनिकमोडमा मुख्य कार्यालय रहेको विराट बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

बिर्तामोड ९ का सदस्यहरुसंग खप्तड बुढाथोकी समाजको सभाहलमा कार्यक्रम गरी सहकारीले शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रममा ६३ जना सदस्यहरुको सहभागिता रहेको थियो । सहकारीको महिला परिचालन उपसमितिको अगुवाईमा भएको कार्यक्रममा उपसमितिकी संयोजक भीमा शिवाकोटीले सहजीकरण गरेकी थिइन् ।

सहकारीका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षता रहेको कार्यक्रममा सहकारीका प्रवन्ध निर्देशक रुद्र सिटौलाले स्वागत मन्तव्य राख्दै भेला आयोजना गर्नुको औचित्य र संस्थाको गतिविधिका बारेमा जानकारी दिएका थिए । त्यस्तै सूचना तथा कर्जा अधिकृत टीका अधिकारीले संस्थाले दिने सेवा सुविधा, ऋण लगानी र असुलीका प्रक्रिया,संस्थाको आगामी योजनालगायतका विषयमा प्रकाश पारेका थिए ।

भेलाले चारवटा महिला समूह निर्माण गरेको छ । यसअघि बिर्तामोड १० तेलगानीमा ३ वटा , बिर्तामोड ३ स्वागत टोलमा २ वटा,फूलवारी टोलमा एउटा महिला समूह निर्माण भइसकेको सूचना तथा कर्जा अधिकृत अधिकारीले जानकारी दिए । सो सहकारी संस्थाले घरदैलो तथा शुभकामना आदानप्रदान कार्यक्रमका लागि ९ वटा समूह परिचालन गरेको जनाएको छ । दसैंतिहार पर्वका अवसरमा सहकारीले आफ्नो उपभोक्ता पसलमा एक प्रतिशत छुट र उपहार योजनाको व्यवस्था गरेको सहकारीका अध्यक्ष शिवाकोटीले बताए ।कार्यक्रमको संचालन संस्थाका कोषाध्यक्ष काजी बुढाथोकीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्