एजेन्सी । उपाधिविहीन यात्रालाई ५६ वर्षमा पूर्णविराम लगाउने लक्ष्यसहित कतार ओर्लिएको फुटबलको जन्मदाता इंग्ल्यान्डले कठिन संघर्षपछि अमेरिकालाई गोलरहित बराबरीमा रोक्दै १ अंक जोडेको छ ।

खेल जित्न असफल भएपछि युरो कपको उपविजेताले नकआउट चरणमा पुग्ने पहिलो टिम बन्ने अवसर गुमायो । पहिलो खेलमा इरानमाथि ६–२ को शानदार जित निकालेको इंग्ल्यान्डले अल खोरस्थित अल बायत रंगशालामा निकै फितलो प्रदर्शन गर्याे । प्रिमियर लिगका स्टार खेलाडीहरु सुस्त देखिए । इंग्ल्यान्डको डिफेन्सलाई अमेरिकी खेलाडीहरुले पूरा खेलमा दबाबमा राखे । सन् १९६६ मा घरेलु भूमिमा भएको विश्वकपको च्याम्पियन इंग्ल्यान्डको प्रदर्शन बराबरी नतिजाको लागि खेलेजस्तै देखियो ।

अमेरिकाले २६ औं मिनेटमा अग्रता लिने अवसर पाएको थियो । तर, टिमोथी वेहको आकर्षक क्रसमा पेनाल्टी क्षेत्रमा अनमार्क रहेका वेस्टन म्याकेन्नीको प्रहार सटिक भएन । उनले बल पोष्टमाथि प्रहार गरे । कप्तान क्रिस्टियन पुलिसिचले ३३ औं मिनेटमा सशक्त रुपमा प्रहार गरेको बल क्रसबारमा चुम्दै बाहिरिँदा अमेरिका फेरि अग्रता नजिक पुगेर पनि रोकिएको थियो । प्रशिक्षक गारेथ साउथगेटले दोस्रो हाफमा ज्याक ग्रिलिस, जोर्डन हेन्डरसन र मार्कुस रासफोर्डलाई मैदानमा उतार्दै आक्रमणमा केही सुधार गरेपनि त्यो प्रयास एक खेल बाँकी छँदै नकआउट चरणमा स्थान सुरक्षित गर्न पर्याप्त भएन ।

चार वर्षअघि रुसमा सेमिफाइनल खेलेको तथा गत वर्ष युरोपियन च्याम्पियनसिपको फाइनलमा पुगेको इंग्ल्यान्डले अब समूह चरण पार गर्नको लागि वेल्सविरुद्धको खेल निर्णायक हुने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्