झापा , माघ १८ । झापामा चेक बाउन्सको मुद्दा दर्ता बढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा नै जिल्लामा १२५ वटा चेक बाउन्सको मुद्दा दर्ता भएको छ । ‘जिल्लामा बाउन्स चेकको मुद्दामो तथ्यांक बढिरहेको छ’ जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले भने । उनका अनुसार साउनमा १६, भदौमा २१, असोजमा ९ कार्तिकमा १४, मंसिरमा २९ र पुषमा ३६ गरी ६ महिनामा जम्मा १२५ वटा बाउन्स चेकका मुद्दा दर्ता भएका छन् । बैङ्किङ कसुरमा मुद्दा लागेका व्यक्तिलाई बिगो बराबरको जरिवाना र बिगो अनुसारको एकदेखि पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ । पछिल्लो समय चेक काटेर दिदैमा केही पनि असर नपर्ने ठानेका कारण बाउन्स चेकको मुद्दा बढेको पाठकको भनाई छ । प्रवक्ता पाठकका अनुसार जिल्लामा तुलनात्मक हिसावले बिर्तामोड र दमकमा यस प्रकारका मुद्धा धेरै आइरहेको छ । बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले चेक बाउन्सका मुद्धा लिएर आउनेहरुलाई अधिकतम मेलमिलापका लागि प्रयास गर्ने गरिएको बताएका छन् । उनले कारोवारको प्रकृति अनुसार मात्रै चेक बाउन्सको मुद्धा प्रहरीले हेर्ने गरेको बताए ।

डिएसपी कुँवरले भने, शुरुमा दुवै पक्षलाई कारोवार मिलाउन भन्छौं । मिलाउने प्रयास गर्दा पनि व्यवहार मिलाइएन भने कारोवारको प्रकृति अनुसार मुद्धा अघि बढ्छ । उनले औपचारिक कारोवार मात्रै प्रहरीले हेर्ने गरेको बताए । पछिल्लो समय अनौपचारिक कारोवार गर्ने , कारोवारको कुनै प्रमाण नहुँदा हामीले मुद्धा हेर्न समस्या हुन्छ , डिएसपी कुँवरले भने – उजुरी लिएर आउनेहरुलाई कारोवारको प्रमाण, बैंक स्टेटमेन पनि ल्याउन भनिरहेका छौं । बिर्तामोडमा पछिल्लो समय बाउन्सको मुद्धा बढिरहेको उनको भनाई छ । व्यवसायिक साझेदारी, सरसापटी र व्याजमा लगाउनेहरु चेक बाउन्सको उजुरी लिएर प्रहरीसम्म पुग्ने गरेका छन् । २/४ लाखको चेक बाउन्स आयो भने दुई पक्षलाई मेलमिलापका लागि सहजीकरण प्रहरीले गर्ने गरेको छ । उनले मिटरव्याजी कारोवारीहरु प्रहरीसम्म नपुग्ने गरेको बताए । हामीले चलनचल्ती ब्याजको कुरा गर्छौं, त्यसैले मिटरब्याजीहरु आइपुग्दैनन् । मिटरव्यानजीहरुले अनौपचारिक कारोवार गर्ने गरेको पाइन्छ । जसको प्रमाण नहुँदा प्रहरीसम्म उजुरी पुग्ने गरेको छैन । बिर्तामोडमा २ करोडसम्मको चेक बाउन्सको मुद्धा आएको डिएसपी कुँवरले जानकारी दिए । झापामा दर्ता भएका चेक बाउन्सका मुद्धामा उच्च अदालत इलामले हेर्ने गरेको छ । प्रहरीका अनुसार चेक बाउन्सको उजुरी परेपछि फोन सम्पर्क गर्दा सम्पर्क नआउने र सम्पर्कबाट भाग्नेको छिट्टो मुद्धा दर्ता हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्