दमक ,माघ २१ । विश्व क्यान्सर दिवसको अवसर पारेर दमक नगरपालिकामा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

नगर उपप्रमुख रेगिना भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले समयमै पहिचान भए क्यान्सर निको हुने बताएका छन् । क्यान्सरबाट जोगिन खानपान र जीवनशैली सकारात्मक बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

कार्यक्रममा आम्दा अस्पताल दमकका डा. नविन ढकालले समय समयमा स्वास्थ्य परीक्षण गर्ने र सकारात्मक जीवनशैली अपनाउनाले क्यान्सरबाट जोगिन सकिने बताए । त्यसैगरी दमक अस्पतालका महिला तथा प्रसुति रोग बिशेषज्ञ डा. दिप्ती कँुवरले दमक क्षेत्रका महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको जोखिम अधिक देखिएको बताइन् । यसै आर्थिक बर्षको ६ महिनाभित्रमा शंकास्पद २ सय जनाको परीक्षण गर्दा २५ जनामा क्यान्सरको सुरुवाती अवस्था देखिएको भन्दै उनले २४ जनाको प्रारम्भिक उपचारबाटै निको भएको र एक जनामा भने क्यान्सर पोजिटिभ देखिएकोले उपचार गर्नु परेको जानकारी दिइन् ।

कार्यक्रममा सहजीकरण गर्दै दमक अस्पतालका जनस्वास्थ्य निरीक्षक बद्री बरालले क्यान्सरलाई अत्यन्तै जटिल प्रकारको रोग भनेर प्रचार गरिँदा बिरामीको आत्मबल कमजोर भएर मृत्यु हुने गरेको बताए ।

कार्यक्रमको अध्यक्षता गरेकी उपप्रमुख भट्टराईले आफू निर्वाचित भएर आएपछि सबैभन्दा पहिला महिलाको पाठेघरको मुखको क्यान्सरको सुरुवाती उपचारमा प्रयोग गरिने मेसिन थर्मोकोबिलेटर दमक अस्पताल र आम्दा अस्पतालमा उपलब्ध गराएको बताइन् । उनले क्यान्सर पनि अरु सामान्य रोगजस्तै समयमै उपचार गरे निको हुने भन्दै बिरामीको मनोबल बढाउनु पर्नेमा जोड दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्