भद्रपुर, माघ २८ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश आवश्यक छैन भन्ने विचार परिवर्तन बिरोधी भावना भएको बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापाको ४९ औं वार्षिक सभालाई भद्रपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले युगानुकुल परिवर्तित व्यवस्थाका रूपमा रहेको प्रदेशको संरचना खारेजको माग गर्नेहरू पश्चगामी सोच भएको बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरण गर्न नसकेकोमा लाजमर्दो भए पनि अब छिट्टै नामकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेश सरकार नेपालका लागि नयाँ संरचना रहेका कारण भौतिक पूर्वाधार निर्माणमा केही पछि रहेको बताउँदै प्रदेशको उन्नतिमा आफू प्रतिबद्ध रहेको बताए ।

मुख्यमन्त्री कार्कीले रेडक्रस जस्तो मानवीय सेवाको पवित्र निकाय राजनीति खिचातानीमा पर्न नहुने भन्दै मुद्धामाथि मुद्धा गर्ने प्रवृत्ति अन्त्य हुनु पर्ने उल्लेख गरे । उनले नेपाल रेडक्रसकै उत्कृष्ट शाखाको पहिचान बनाएको झापा रेडक्रसको उन्नतिका लागि प्रदेश सरकारले सहकार्य गर्ने समेत बताए ।

रेडक्रस झापाका सभापति लोकराज ढकालको अध्यक्षता तथा प्रदेश १ का मुख्यमन्त्री कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रेवतीरमण स्वयम्सेवा पुरस्कारबाट उत्कृष्ट रेडक्रसकर्मीका रूपमा रेडक्रस झापाका पूर्व उपसभापति दिव्यप्रसाद भूर्तेल, पूर्वमन्त्री नारायण ढुंगाना र तुलसी काफ्ले जनही नगद ११ हजारसहित पुरस्कृत भएका छन् । यस्तै उत्कृष्ट रक्तदाता सम्मानबाट वीरता लेडी जेसीज, तेरापुञ्ज युवा परिषद र विराट अर्जुन उपभोक्ता सहकारी संस्था सम्मानित भए भने रेडक्रसकर्मीकै रूपमा रहेकी लख्खीदेवी गणेश प्रदेश सभा सदस्य निर्वाचित भएको भन्दै सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्