झापा, फागुन १ । पूर्व राजा ज्ञानेन्द्र शाहले अभियन्ता दुर्गा प्रसाईँले आयोजना गरेको ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन गरेका छन् ।

अपराह्न २ बजे पूर्व राजा शाहले मेचीनगर ६ प्यारीभिट्टास्थित बसपार्कमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको उद्घाटन गरेका हुन् । प्यारीभिट्टा बसपार्कको मैदानमा एक कार्यक्रमका बीच पूर्व राजा ज्ञानेन्द्रले पानसमा दीप प्रज्वलन गरी र सेता परेवा उडाएर सो अभियानको उद्घाटन गरेका थिए । ‘राष्ट्र, राष्ट्रियता, धर्म ,संस्कृति र नागरिक बचाऔँ महाअभियान ’को उद्घाटन कार्यक्रममा राजतन्त्रको पक्षमा उपस्थित सयौँले नारावाजी समेत गरेका थिए । कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रको उपस्थिति भइरहँदा उपस्थित राजतन्त्रका पक्षधरहरुले राजतन्त्रको पक्षमा नारावाजी समेत गरेका थिए । सयौँको संख्यामा कार्यक्रम स्थलमा रहेका सहभागीहरुले ‘राजा आउ देश बचाऊ ’ भनेर नारावाजी गरेका थिए । करिब २४ मिनेटसम्म पूर्व राजा कार्यक्रममा बसेका थिए ।

पूर्व राजा ज्ञानेन्द्र कार्यक्रमस्थल पुग्दा सहभागीहरूले जयजयकार गरेका थिए । पूर्व राजा ज्ञानेन्द्र आउने प्रचार गरिएपछि कार्यक्रमस्थलमा सर्वसाधारणको ठूलो भीड लागेको थियो । मञ्चमा अभियन्ता प्रसाईँले पूर्व राजा शाहलाई स्वागत गरेका थिए ।कार्यक्रममा पूर्व रानी कोमल शाह, पूर्व राजकुमार पारस शाह, पूर्व राजकुमारी शिताष्मा शाहले सहभागिता जनाएका थिए । मञ्चमा पूर्व राजपरिवारसँगै अभियानका संयोजक प्रसाईँ पनि लहरै बसेका थिए । कार्यक्रमको उद्घाटन गरेका पूर्व राजा शाह सम्बोधन नगरी फर्किएका थिए ।

पूर्वराजा शाह कार्यक्रमस्थलबाट हिड्नेबित्तिकै महाअभियानका संयोजक प्रसाईले उद्घाटन समारोहलाई सम्बोधन गरेका थिए ।कार्यक्रममा राष्ट्रिय शक्तिका नेता केशरबहादुर बिष्टले आजको दिन कालो र सेतो दिन भएको बताए । मन्तब्यका क्रममा उनले जनयुद्धप्रति लक्षित गरेर कालो दिन भएको बताए भने महाअभियानको थालनी भएकोमा सेतो दिनको रुपमा चित्रित गरेका थिए ।
सो कार्यक्रममा राप्रपाका नेता रामकुमार सुब्बा, दिपेन्द्र कँडेल , सतिश पोखरेललगायतले मन्तब्य राखेका थिए ।अभियान उद्घाटन कार्यक्रमका वक्ताहरुले अधिकांश समय गणतन्त्रको औचित्य नभएको भनेर जिकिर गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्