झापा,फागुन २ । प्रणय दिवसको अवसर पारेर इलाम रोङका विद्यार्थीहरुले सवारी चालकहरुलाई प्रेमको प्रतीक गुलाफ फूल उपहार दिएका छन् ।

रोङ विद्यार्थी एकता समितिले जोरकलशमा ट्राफिक सचेतना कार्यक्रमसहित सवारी चालकहरुलाई गुलाफ फूल उपहार दिएको हो । सवारी चालकहरुलाई जिम्मेवार बनाउन ‘मेरो परिवार र यात्रुको जिम्मेवारी ममा’ भन्ने नाराका साथ जोरकलशमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको रोङ विद्यार्थी एकता समितिका अध्यक्ष बिमल कट्टेलले बताए ।

समितिका अध्यक्ष कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोङ गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासले विद्यार्थीले गरेको कामको प्रशंसा गरिन् । प्रणय दिवसको दिन कतिपय विद्यार्थी आफ्नो प्रेमी– प्रेमिकासंग घुमफिर गरिरहँदा रोङ विद्यार्थी एकता समितिका विद्यार्थीहरुले चाहिँ सामाजिक काममा देखाएको तत्परताले खुसी लागेको बताइन् । आगामी दिनमा रोङ विद्यार्थी एकता समितिसंग सदैब सहकार्य गरेर जाने र पालिकाले गर्नुपर्ने सहयोगबाट कहिले पछि नपर्ने बताइन् । ट्राफिक नियमको पालना गर्न उनले सबैलाई अनुरोधसमेत गरिन् ।

पर्यटन सूचना केन्द्र जोरकलश, ट्राफिक प्रहरी पोष्ट जोरकलश, अंकुरण फाउण्डेसन रोङको सहकार्यमा सम्पन्न कार्यक्रममा मेची राजमार्गमा मादक पदार्थ सेवन गरी सवारी नचलाउने प्रतिबद्धतासहितको ‘मेरो परिवार र यात्रुको जिम्मेवारी ममा’ लेखिएको स्टिकर टाँसी सवारी चालकहरुलाई प्रेम दिवसको उपलक्ष्यमा फूल दिइएको थियो । रोङ विद्यार्थी एकता समितिका विवेक कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रममा किटेनी प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक भानु मगरलगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रम रोङ विद्यार्थी एकता समितिकी सदस्य गृष्मा सापकोटाले संचालन गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्