झापा , फागुन ४ । नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन विराटनगरमा जारी १२औं पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष एकलको खेलमा पुलिसकै जीवन आचार्यलाई २१-९, २१-१४ ले पराजित गर्दै प्रिन्सले अन्तिम आठमा स्थान बनाएका हुन् । उनले आफ्नो समूहको तीन वटै खेलमा जित हासिल गरेका छन् । सोही समूहबाट कास्कीका विधान अधिकारी पनि क्वार्टरफाइनल पुगेका छन् । विधानले एक जित र एक वकओभर पाउँदै अन्तिम आठमा पुगेका हुन् । पुलिसका विष्णु कटुवालले पनि अन्तिम आठमा स्थान बनाए । उनले आर्मीका रुकेश महर्जनलाई १९-२१, २१-१६, २१-५ ले पराजित गरे। यस समूहबाट रुकेश महर्जनले पनि अन्तिम आठमा स्थान सुरक्षित गरे। यसैगरी एपीएफका क्षितिज खनाल र देवराज रानाले पनि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे। यस्तै आर्मीका प्रफुल महर्जन पुलिसका सुनिल जोशी अन्तिम आठमा पुगे। क्वार्टरफाइनलमा विष्णुले देवराज, प्रफुलले विधान, रुकेशले क्षितिज र सुनिलले प्रिन्ससँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् । महिलातर्फ रसिला र पुलिसकी नीता लम्सालसँगै आर्मीकी अमिता गिरी, एपीएफकी शोभा गौचन, आर्मीकी अनुमाया राई, एपीएफकी सुनयना मुखिया, एपीएफकी जेशिका गुरुङ र आर्मीकी प्रार्थना देउवाले पनि अन्तिम आठमा पुगे । बुधबार सम्पन्न खेलमा रसिलाले पुलिसकी नीतालाई २१-१४, २३-२१, आर्मीकी अमिता गिरीले एपीएफकी शोभा गौचनलाई १३-२१, २१-१५, २१-१५, आर्मीकै अनुमायाले एपीएफकी सुनयना मुखियालाई २१-१९, २१-७ र एपीएफकी जेशिका गुरुङले आर्मीकी प्रार्थना देउवालाई २१-१०, २२-२० ले पराजित गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्